स्टार्टअप उद्यमी बन्न चाहनुहुन्छ ? पहिले यी विषयबारे बुझ्नुहोस्

अफिस दर्ता, ट्रेडमार्क, पेटेन्ट, कार्यालय स्थापना तथा कर फछ्र्योट जस्ता शब्दले तपाईंको दिमाग फनफनी घुमाउँछन् । तपाईं आफ्नो वरिपरि हेर्दा सबैले आफ्नै व्यवसाय गरेको देख्नुहुन्छ, उनीहरुलाई आफूले के गरेको छु भन्ने पनि ज्ञान छ, ‘मैले कहाँबाट सुरु गरुँ ?’ भन्ने तपाईंलाई लाग्न सक्छ ।

तपाईंले आफ्नो पहिलो पाइला चाल्न र सपना साकार पार्ने निर्णय लिनुभयो । तपाईं आफ्नो नयाँ विचारको सोचाइले रोमाञ्चित पनि हुनुभएको छ । तपाईंलाई थाहा छ कि अन्य कुनै व्यक्तिले पनि यसका बारेमा सोचेका छैनन् । तपाईं आफ्नो व्यावसायिक संसारको स्वामी बन्न तयार हुनुहुन्छ । तपाईंलाई जागिरबाट निकालिएको छ । अब तपाईं आफ्नो नामका अगाडि ‘उद्यमी’ राख्न तयार हुनुहुन्छ ।

तर, केही कुरा थाहा पाउनुभयो भने तपाईंमाथि वज्रपात परेझैं हुन्छ । अफिस दर्ता, ट्रेडमार्क, पेटेन्ट, कार्यालय स्थापना तथा कर फछ्र्योट जस्ता शब्दले तपाईंको दिमाग फनफनी घुमाउँछन् । तपाईं आफ्नो वरिपरि हेर्दा सबैले आफ्नै व्यवसाय गरेको देख्नुहुन्छ, उनीहरुलाई आफूले के गरेको छु भन्ने पनि ज्ञान छ, ‘मैले कहाँबाट सुरु गरुँ ?’ भन्ने तपाईंलाई लाग्न सक्छ ।

म स्वयम् स्टार्टअपको संस्थापक भएका नाताले यस भावनासँग सम्बन्धित हुन सक्छु । आफ्नो सपनालाई मूर्तरुप दिन पहिलो पटक एउटा ढुङ्गा थप्दा भयङ्कर प्रतीत हुन सक्छ । तर तपाईंको व्यवसाय प्रारम्भ गर्न सर्वप्रथम के पाइला चाल्नुपर्छ भन्नेले वास्तविक अन्तर पार्छ र पछि गएर तपाईंको निकै समय र पैसा बचाउन सक्छ ।

त्यसो भए अब तपाईं कहाँबाट आरम्भ गर्ने हुनुभयो ? नयाँ उद्यमीका रूपमा तपाईंले आफ्नो सपना साकार पार्न हरेक क्षणको लेखाजोखा गर्नुपर्छ । यसो गर्नका लागि यहाँ मेरा केही मुख्य स्टार्टअप सारतत्त्व छन्, जुन एउटा उद्यमीले आफ्नो व्यवसाय सुरू गर्दा जान्नुपर्ने हुन्छ ।

एउटा राम्रो वेबसाइट बनाउनुहोस्

एउटा आकर्षक वेबसाइट बनाउनु र अनलाइनमा उपस्थिति जनाउनु आजको व्यवसायमा लगभग नभई नहुने कारक वस्तु हो । किनकि आजकलका ग्राहक पसलमा गएर कुनै समान किन्नुभन्दा पहिला अनलाइनमा त्यसबारे बढीभन्दा बढी जानकारी लिने किसिमका हुन्छन् ।

उपयुक्त व्यक्तिलाई उपयुक्त वस्तु देखाउन एउटा राम्रो वेबसाइटले तपाईंलाई सक्षम बनाउँछ, जसले तपाईंको कम्पनीका साथै ग्राहकसँग व्यक्तिगत सम्पर्क बनाउन प्रोत्साहित गर्छ । वेबसाइटमा तपाईंको कम्पनीको सेवा, सर्त, स्पष्टीकरण तथा गोपनीयता नीति पनि समावेश हुनुपर्छ ।

एउटा राम्रो वेबसाइटले ग्राहकसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न प्रोत्साहन गर्छ, जसले गर्दा तपाईंको ब्रान्डमा उनीहरुको विश्वास बढ्दै जान्छ । वेबसाइट तपाईंको अनुहार हुनुपर्छ, जहाँ मान्छेले तपाईंद्वारा गरिएका यावत् कार्यका बारेमा विश्वसनीय जानकारी प्राप्त गर्न सकून् । यसका अतिरिक्त, एउटा अनुकूलित वेबसाइटले तपाईंलाई सही स्थितिमा महत्त्वपूर्ण परिदृश्य प्राप्त गर्न मद्दत गर्छ ।

आफ्नो टिमका सदस्यको भूमिकालाई बुझ्नुहोस्

जब तपाईं एउटा संस्थापक वा संस्थापक समूहका रूपमा आउनुहुन्छ, तब सर्वप्रथम तपाईंको टिमका सदस्यहरुको प्रतिभा र दक्षता कुन विषयमा छ त्यसको पहिचान गरेर कसले कुन काम गर्न सक्छ त्यसको निक्र्योल गर्नुपर्छ । एउटा कम्पनीका रूपमा, तपाईंले सह–संस्थापकहरुसँगको भूमिका र जिम्मेवारी, इक्विटी र सञ्चालनसम्बन्धी सर्तका बारेमा स्पष्ट रूपले निर्धारित गर्नुपर्ने हुन्छ ।

यसको उद्देश्य तपाईंको टिमका सदस्यसँग कम्पनीको सफलताको कथामा उनीहरुको योगदानको बारेमा खुला र इमानदारीपूर्वक प्रशंसा गर्नु हो, जुन तपाईंले बनाउने आशा गर्नुभएको छ । पछि गएर कुनै पनि असमझदारीबाट जोगिन यो महत्त्वपूर्ण हुन्छ ।

कुनै टिमको स्थापनाको प्रारम्भिक चरणमा त्यसका सदस्यहरुको भूमिका र जिम्मेवारीमा स्पष्टता राख्नुका धेरै फाइदा छन् । प्रथमतः यसले तपाईंलाई एउटा टिमका रुपमा आफ्नो क्षमता बढाउने अनुमति दिन्छ । र प्रत्येक सदस्यमा भएका विभिन्न क्षमतालाई प्रस्ट रुपले बुझ्न तथा भविष्यमा आइपर्ने समस्या हल गर्न प्रायः महत्त्वपूर्ण हुन सक्छ ।

तपाईंको स्टार्टअपको सफलता सम्पूर्ण टिममाथि त्यति नै बढी निर्भर हुन्छ, जति संस्थापकहरुमा हुन्छ ।

कम्पनीलाई प्रालिका रूपमा दर्ता गर्नुहोस्

तपाईंले आर्थिक सहयोग खोज्न भएको छ र कम्पनीलाई एउटा गतिशील व्यवसाय बनाउन चाहनुहुन्छ भने निजी कम्पनीका रूपमा पहिला कम्पनी दर्ता गर्नु जरूरी हुन्छ ।

कतिपयले स्टार्टअप तथा उदाउँदा व्यवसायलाई प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता गर्न रुचाउँछन् । किनकि यसमा सेयरधनीहरुको सीमित दायित्व हुनाले बाहिरी आर्थिक सहयोग जुटाउन सजिलो हुन्छ । यसैगरी उच्च प्रतिभा आकर्षित गर्न कर्मचारीलाई सेयर दिने विकल्प प्रदान गर्न योग्य बनाउँछ ।

यसो गर्दा तपाईंको कम्पनीले के पनि सुनिश्चित गर्न सक्छ भने कम्पनीलाई थप उत्तरदायित्व र विश्वसनीयतासाथ अगाडि बढाइएको छ ।

सम्झौता पत्र बनाउनुहोस्

कम्पनी दर्ता हुनेबित्तिकै सुरुमै भएका छलफलका आधारमा टिमका सदस्यहरुको काम, कर्तव्य र अधिकारका बारेमा संस्थापकहरुको भूमिकासम्बन्धी सम्झौतापत्रको मस्यौदा बनाउनुस् । संस्थापकीय समझौता पत्रले कुनै कम्पनीका संस्थापक सदस्यहरुको विभिन्न भूमिका तथा कर्तव्य निर्दिष्ट गरेको हुन्छ । जस्तै, उनीहरुमा निहित न्यायिक अधिकार, उनीहरुद्वारा सिर्जित बौद्धिक सम्पदाको स्वामित्व र उनीहरुको भूमिका तथा कर्तव्य । यो एउटा विशद सम्झौता हो जसमा आफ्नो मृत्यु वा शेषपछि हुने परिणामसहित उद्यमका संस्थापकहरुले निर्वाह गर्ने धेरै पक्ष समावेश गरिएका हुन्छन् ।

सम्झौताको मस्यौदाले सबै असमझदारीलाई छर्लङ्ग पार्न सक्छ । किनकि सहसंस्थापकहरुका बीच प्रायः कतिपय कुरामा चर्चा गरिएको हुन्न । मस्यौदाले टिमका सुरुका सदस्यहरुलाई यी सबै कुरामा चर्चा गर्न, कुनै पनि सन्देह निर्मूल पार्न तथा लामो अवधिमा प्रगाढ सम्बन्ध बनाउन अनुमति दिन्छ । यसले सदस्यहरुलाई कम्पनीमा उनीहरुको भूमिकालाई स्पष्ट पार्ने मौका पनि दिन्छ । साथै संस्थापक सदस्यहरुलाई एक आपसमा असल समझदारी कायम गर्न मद्दत गर्छ ।

लगानीकर्तासँग सेयरधनीहरुको सम्झौता

सेयरधनीहरुको सम्झौता एउटा कम्पनीका सेयरधनीबीचको सम्बन्धलाई मात्र नियन्त्रण गर्ने सम्झौता हो । यसमा उनीहरुको अधिकार र दायित्व, सेयर हस्तान्तरण, कम्पनी सञ्चालनको प्रक्रिया तथा कति महत्त्वपूर्ण निर्णयहरु गरिनुपर्ने छलगायत बुँदा समावेश हुन्छन् ।

सेयरधनीहरुको सम्झौताले कुनै सेयरधनीको सबै शक्ति र अधिकारहरु परिभाषित गरेको हुन्छ । साथै सेयर जारीकर्ताका रूपमा तपाईंले आरक्षित गरेका अधिकारलाई प्रस्ट्याएको हुन्छ । यसका अतिरिक्त यो सम्झौताले साना तथा ठूला सेयरधनीबीच रहने सम्बन्धको नियामकका रूपमा काम गर्छ । सेयरधनीहरुको सम्झौता साना स्टार्टअप कम्पनीहरुका लागि अति उत्तम हुन्छ, जो पटक पटक ससाना परिवर्तन हुँदा औपचारिक रूपले विधान संशोधन गर्न चाहन्नन् ।

ट्रेडमार्क रजिस्टर गर्नुहोस्

के तपाईं पनि आफ्नो व्यवसायको विशिष्ट पहिचान होस् भन्ने चाहनुहुन्छ ? ट्रेडमार्क एक खालको अमूर्त सम्पत्ति हो, जुन अति नै मूल्यवान् हुन सक्छ । ‘एप्पल, सामसुङ वा कोकाकोला’लाई हेर्नुस् । तपाईंको ब्रान्ड पनि सफल हुनुपर्छ । तपाईंको ट्रेडमार्क अवश्य नै तपाईंको ब्रान्ड–चरित्र हो । जसै तपाईंको ब्रान्डले ध्यानाकर्षण गर्न थाल्छ, अथवा तपाईंको कम्पनी लामो समयसम्म चल्ने छाँटकाँट देखिन्छ, तब ट्रेडमार्क दर्ता गर्नु झनै वाञ्छनीय हुन्छ ।
दर्ता गरिएको ट्रेडमार्कले तपाईंको कपनीको ब्रान्डलाई गैरकानूनी प्रयोग हुनबाट सुरक्षा दिन्छ । विशेषगरी त्यहाँ जहाँ गैरकानुनी नकलको भरमार छ । र, यसले अदालतमा आफ्नो अधिकार स्थापित गर्न पनि सहज बनाउँछ । ट्रेडमार्क दर्ता गर्नु भनेको ग्राहकले तपाईंको ब्रान्डका उत्पादन वा सेवा पहिचान गर्ने दिशामा पहिलो कदम चाल्नु हो ।

भ्याट वा कर कार्यालयमा दर्ता गर्नुहोस्

प्रायः कतिपय स्टार्टअप कम्पनी आफ्नो ब्रान्ड निर्माणमा व्यस्त रहनाले कर तिर्नुपर्छ भन्ने नै बिर्सेका हुन्छन् । आफू महत्त्वपूर्ण काममा लागेकाले कर फछ्र्योटतिर ध्यानै दिन सकिनँ भनेर उनीहरुले तर्क गर्न सक्छन् । तर, अन्ततः पैसाको आवश्यकता भएका बेला त्यसको अभावमा त्यस्ता कैयौं व्यवसाय बन्द हुन पुग्छन् ।

समयमा कर बुझाउँदा तपाईं जरिवानाबाट बच्नुहुन्छ र कर छुटको फाइदा पनि लिन सक्नुहुन्छ । यसो गर्दा केही पैसा जोगाएर भविष्यमा आवश्यकता परेका बेला उपयोग गर्न सकिन्छ ।

इन्ट्रप्रेनर इन्डियामा वकिलसर्चका संस्थापक तथा सीईओ ऋषिकेश दतरको लेखको अनौपचारिक अनुवाद
यहाँ व्यक्त गरिएका राय उद्यमी स्वयम्का हुन् ।