मन्त्रिपरिषदले चीनको सहयोगमा रसुवा र सिन्धुपालचोक जिल्लाका रसुवागढी र तातोपानी नाकामा दुई ओटा मैत्री पुल निर्माणको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो ।
नेपाल चीन सीमानामा दुई मैत्री पुल निर्माणका लागि सरकारको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनको सहयोगमा रसुवा र सिन्धुपालचोक जिल्लाका रसुवागढी र तातोपानी नाकामा दुई ओटा मैत्री पुल निर्माणको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो ।
२०७२ सालको महाभूकम्पले ती दुवै पुल क्षति भएका थिए । हाललाई सामान ओसार पसार तथा मान्छे आवत जावत गर्न रसुगढीमा एउटा अस्थायी पुल बनाइएको छ ।
रसुगढी चीनको केरुङ सहरको सीमा नजिक पर्छ र यो दुवै राष्ट्रबीच हुने मुख्य अन्तरदेशीय व्यपार मार्ग पनि हो भने तातोपानी नाका चीनको खासा (झाङमु) सहरसँग जोडिएको छ । भूकम्पपछि तातोपानी नाका बन्द छ ।
मन्त्रिपरिषदले दुई ओटा पुल निर्माणका लागि मार्ग प्रशस्त गर्ने प्रस्ताव पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले आइतबार सिन्हुआसँग कुरा गर्दै भनेका हुन् ।
‘दुइटा पुल चीनको अनुदान सहयोगमा बनाइने छ,’ मन्त्री तामाङले भने, ‘यी दुवै परियोजनाहरुको डिजाइन तयार भइसकेकाले चिनियाँ पक्षले तुरुन्त पुल निर्माणको काम थाल्न सक्छ ।’
यी पुल बनिसकेपछि दुवै देशको व्यापार व्यवसाय बढाउन सहयोग पुग्ने उनले बताए ।
–सिन्हुआ