नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँपालिका, नगरपालिका, शैक्षिक तथा स्वास्थ्य संस्था, अस्पताल आदिमा दुई वर्षका लागि ग्रामीण दूरसञ्चार कोषको ६४ करोडभन्दा बढी रकम खर्च गर्दै तीन सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, सुबिसु केवल नेट प्रालि र मर्कन्टायल प्रालिलाई ब्रोडब्यान्ड इन्टरनेट जडानको काम दिएको थियो ।
भूकम्पबाट अति प्रभावित ११ जिल्लामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेटको पहुचँ पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँपालिका, नगरपालिका, शैक्षिक तथा स्वास्थ्य संस्था, अस्पताल आदिमा दुई वर्षका लागि ग्रामीण दूरसञ्चार कोषको ६४ करोडभन्दा बढी रकम खर्च गर्दै तीन सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, सुबिसु केवल नेट प्रालि र मर्कन्टायल प्रालिलाई ब्रोडब्यान्ड इन्टरनेट जडानको काम दिएको थियो ।
तर प्राधिकरणले तोकेको समयमा दुई इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु र मर्कन्टायले मात्र समयमा काम सकेका थिए । टेलिकमले भने समय सकिँदा पनि काम नसकेर दुई महिनाको समय अवधि थपेको थियो । अहिले टेलिकमले पनि काम पूरा गरिसकेको छ ।
नेपाल टेलिकमले प्राधिकरणसँग करिब २० करोड रुपैयाँ लागतमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका सात सय ४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सम्झौता गरेको थियो । ‘दुई महिना समय थप भएपछि जिम्मा लिएका सबै स्थानमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइसकेका छौं,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।
सुबिसु केबलनेटले निर्धारित समयमै सबै स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिसकेको छ भने प्राविधिक टोलीले पनि अनुगमन गरी इन्टरनेट समेत प्रदान गरिसकेको छ ।
प्राधिकरणले कुल २० करोड रुपैयाँ लगानीमा जिम्मा दिएको गोरखा, धादिङ र मकवानपुरका सबै गाउँपालिका, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना सम्पन्न भइसकेको सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए । उक्त परियोजनामा सुबिसु केबलनेटका प्राविधिकले पनि अनुगमन गरिसकेको र दूरसञ्चार प्राधिकरणलाई रिपोर्ट समेत दिइसकेको राजुलीको भनाइ छ ।
सुबिसु केबलनेटलाई प्राधिकरणले गोरखाका दुई सय २१, धादिङका दुई सय ३ र मकवानपुरका एक सय ५५ स्थानमा इन्टरनेट विस्तारको जिम्मा दिएको थियो ।
त्यस्तै मर्कन्टायलले पनि निर्धारित समयमै इन्टरनेट विस्तार कार्य सम्पन्न गरिसकेको र उक्त परियोजनाको काम भेरिफिकेसन समेत भइसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
मर्कन्टायलले २३ करोड रुपैयाँ लागतमा दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गाका सात सय १६ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिसकेको छ ।
मर्कन्टायललाई प्राधिकरणले दोलखाका एक सय ८३, सिन्धुलीका दुई सय एक, रामेछापका एक सय ७७ र ओखलढुङ्गाका एक सय ५५ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तारका लागि जिम्मा दिएको थियो । कुनै समस्याबिनै काम सम्पन्न भइसकेको मर्कन्टायलका प्रमुख कार्यकारी निर्देशक विजय पन्तले जानकारी दिए । ब्रोडब्यान्ड जडान भएका सबै स्थानमा अनुगमन कार्य पनि सकिइसकेको पन्तले बताए ।