सरकारले ठूला क्षमताका दुईपाङ्ग्रे सवारी साधनमा भारी कर बढाएर लक्ष्य भेटाउन खोजेको व्यवसायीले बताएका छन् । बाइक नेपाल भित्रिँदा ४० प्रतिशतसम्म महँगो हुने भएपछि व्यवसायीले अर्डर धमाधम ‘क्यान्सिल’ गर्न थालेका हुन् ।
सरकारले क्युबिक सेन्टिमिटर (सीसी) का आधारमा कर बढाएपछि ठूला क्षमताका बाइक आयात गर्ने व्यवसायीले नेपाल आउन लागेका बाइकको बुकिङ रद्द गर्न थालेका छन् ।
सरकारले ८ सय ३१ अर्ब रुपैयाँको राजस्व लक्ष्य भेटाउन विभिन्न क्षेत्रमा करको दर बढाएको छ । यसै क्रममा सरकारले ठूला क्षमताका दुईपाङ्ग्रे सवारी साधनमा पनि भारी कर बढाएर लक्ष्य भेटाउन खोजेको व्यवसायीले बताएका छन् । बाइक नेपाल भित्रिँदा ४० प्रतिशतसम्म महँगो हुने भएपछि व्यवसायीले अर्डर धमाधम ‘क्यान्सिल’ गर्न थालेका हुन् ।
‘खासगरी, डुकाटी, बेनेली, केटीएम डुक, रोएल इन्फिल्ड, क्रसफायरलगायतका बाइकको बुकिङ धमाधम रद्द हुँदैछ,’ पञ्चकन्या ग्रुपका निर्देशक उदय श्रेष्ठले क्यापिटलसँग भने, ‘१६ लाख रुपैयाँमा पाइने डुकाटी बाइकको मूल्य अब ३० लाख रुपैयाँ पर्ने भयो । यस्तो अवस्थामा बाइक बेच्न समस्या हुने भएकाले बुकिङ रद्द गर्न थालेका छौं ।’
सरकारले दुईपाङ्ग्रेमा सीसी अनुसार मूल्य बढाउँदा कम सीसीका बाइकलाई फाइदा पुगेको छ भने, बढी सीसीका बाइकलाई मर्का परेको छ ।
सरकारले एक सय ५० सीसीभन्दा माथिका बाइकमा कर बढाएको छ । यसरी कर बढाउँदा, पल्सर १८०, २००, २२०, बजाजको डोमिनारलाई प्रत्यक्ष मर्का परेको छ ।
त्यसैगरी, बेनेली ब्रान्डका सबै बाइकलाई ठूलो धक्का लागेको छ । डुकाटी, केटीएम डुक, क्रसफायरमा पनि निकै भन्सार बढेको व्यवसायीहरु बताउँछन् । सरकारले राजस्व बढाउने उद्देश्यले भन्सार बढाए पनि सोचेअनुरुप भन्सार नउठ्ने व्यवसायीहरुले बताएका छन् ।
बेनेली तथा डुकाटी बाइक बिक्री गर्दै आएका श्रेष्ठ भन्छन्, ‘नेपालमा महँगा बाइक भित्रिए मात्रै राजस्वको लक्ष्य भेटिन्छ, यसैगरी सबै कम्पनीले बुकिङ रद्द गर्दै गएमा सोचेअनुरुप राजस्व उठ्दैन ।’
बेनेलीका मात्रै २ सय ओटा बाइकको बुकिङ रद्द भएका छन् । त्यसैगरी, डुकाटीका पनि सय ओटा बाइकको बुकिङ ‘क्यान्सिल’ गरिएको छ ।
व्यवसायीका अनुसार धमाधम बुकिङ रद्द गर्ने बित्तिकै राजस्व लक्ष्य अनुरुप उठ्दैन । ‘नयाँ बाइक नै नेपाल भित्रिँदैनन्,’ उनले भने, ‘अनि कसरी राजस्व उठ्छ ?’