केन्द्रीय बैङ्कले यसअघिको व्यवस्थालाई कायम राख्दै तीन नयाँ विषयमा स्नातकलाई पनि सीईओ र सञ्चालक हुन पाउने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले लघुवित्त संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यतालाई अझ खुकुलो बनाएको छ । बुधबार केन्द्रीय बैङ्कले समाजशास्त्र, कृषि र ग्रामीण विकासजस्ता विषयका स्नातकले लघुवित्त संस्थाका सञ्चालक र सीईओ हुन पाउने व्यवस्था गरेको हो ।
बैङ्कले गत साउनमा बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्यअनुभवसम्न्धी विनियमावली, २०७४ जारी गरेको थियो । यसअघिको व्यवस्थाअनुसार चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैङ्किङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैङ्किङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो काम गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । केन्द्रीय बैङ्कले यसअघिको व्यवस्थालाई कायम राख्दै तीन नयाँ विषयमा स्नातकलाई पनि सीईओ र सञ्चालक हुन पाउने व्यवस्था गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा भएका कानुनी प्रावधानहरूअनुरूप बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक, स्वतन्त्र सञ्चालक र सीईओको हकमा योग्यता तथा कार्यअनुभव आवश्यक देखिँदा यस्तो व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।यसैबीच केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई दिइने बोनस सेयर तथा त्यसमा लाग्ने कर तिर्ने प्रयोजनका लागि वितरणयोग्य नाफा गणना गर्दा स्थगन कर घटाउन अनिवार्य नभएको जानकारी दिएको छ ।
बैङ्कले इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७२ मा २०७२ असार मसान्तसम्म भन्ने उल्लेख भएकाले त्यसलाई खारेज गरी २०७३÷७४ को लाभांशका लागि यस्तो कर सम्पत्तिबाट घटाउनु अनिवार्य नरहेको बताएको छ ।