मेलामा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले मेरो घर नामक कम्पनीले निर्माण गरिरहेका र निर्माण भइसकेका घर खरिद गर्नेलाई सहुलियत ब्याजमा ऋण दिने जनाएको छ ।
घरजग्गा मेलामा बैङ्कहरुले सकेसम्म सस्तो ब्याजदरमा घरकर्जा (होमलोन) अफर गरिरहेका छन् ।
असार १ देखि सुरु भएको घरजग्गा मेलाको अवसरमा बैङ्कहरुले ९ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा दिने अफर ल्याएका हुन् । त्यसैगरी अपार्टमेन्ट खरिद गर्ने सेवाग्राहीलाई पनि कम्पनीअनुसार बैङ्कले ५ वर्षदेखि ३५ वर्ष अवधिसम्मको कर्जा दिन ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
मेलामा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले मेरो घर नामक कम्पनीले निर्माण गरिरहेका र निर्माण भइसकेका घर खरिद गर्नेलाई सहुलियत ब्याजमा ऋण दिने जनाएको छ ।
बैङ्कका मार्केटिङ् एक्जुकेटिभ निराजन दाहालले मेलामै हाउजिङ खरिद गर्नेले केही छुट पाउने बताए । दाहालका अनुसार जग्गाको खरिदमा १० दशमलव ९५ प्रतिशत ब्याज र निर्माणाधीन घर कर्जाका लागि ९ दशमलव ९५ प्रतिशत ब्याज लाग्नेछ । सो कर्जा १० वर्ष समयावधिको रहने दहालले बताए । मेरो घरले २०७४ सालमा बनेका तथा बनेर पनि बिक्री नभएका एक करोडदेखि पाँच करोड रुपैयाँसम्मका घर खरिद बिक्रीका लागि नमुना प्रदर्शनमा राखेको छ ।
त्यस्तै, लक्ष्मी बैङ्कले सुरक्षित घरकर्जाका लागि मूल्याङ्कित धितोको ५० प्रतिशतसम्म ऋण दिने भएको छ भने १३ प्रतिशतसम्म ब्याज लिनेछ ।
एनएमबी बैङकले भने ३५ वर्षका लागि हाउजिङ् तथा अपार्टमेन्ट खरिद गर्ने सेवाग्राहीलाई धितोको ५० प्रतिशतसम्म ऋण दिने बैङ्कका प्रोडक्ट म्यानेजर होम जोशीले बताए । ‘हामीले साढे १३ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएका छौं,’ उनले क्यापिटलनेपालसँग कुरा गर्दै भने ।
लामो समयावधिका लागि दिइने ऋणले ऋणीलाई कुनै भार नपर्ने बताउँदै उनले लामो समयसम्मका लागि सहुलियत ब्याज दरमा ऋण एनएमबीले मात्र उपलब्ध गराएको दाबी गरे ।
सिभिल बैङ्कले १२ प्रतिशत ब्याजमा आठ करोडभन्दा बढी ऋण दिने जनाएको छ । बैङ्कले ऋणीको आर्थिक अवस्था, घरजग्गा तथा आमदानीको स्रोत हेरेर ऋण दिइने उल्लेख गरेको छ । एभरेष्ट बैङ्कले हाउजिङ् खरिद गरेको पाँच वर्षका लागि १० दशमलव ३३ प्रतिशत र १५ वर्षे अवधिका लागि १० दशमलव ८३ प्रतिशत ब्याजमा ऋण दिइएको सिनियर म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताए ।
सनराइज बैङ्कले सुरक्षित घर कर्जामा १४ प्रतिशतसम्म ब्याजका साथ २० वर्षका लागि मूल्याङ्कित धितोको ५० प्रतिशतसम्म ऋण दिने गरेको मार्केटिङ् हेड नीलप्रसाद बञ्जाराले बताए । एनआईसी एसिया बैङ्कले पनि १३ दशमलव ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइएको मार्केटिङ् पर्सन विजय मौर्यले जानकारी दिए ।