नेपाल धितोपत्र बोर्डले मङ्गलबार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ संशोधन गरेर यस्तो सुविधा दिएको हो । यसअघि निस्कासन भएको सुरुका ४ दिनसम्म सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे मात्रै संस्थागत लगानीकर्ताले आवेदन गर्न पाउँथे । यसअघि कुल निष्कासनको ०.५ प्रतिशतसम्म मात्र अधिकतम आवेदन दिन पाउने व्यवस्था थियो ।
प्रिमियमसहितको प्राथमिक निष्कासन (अङ्कित मूल्यमा थप रकम सहितको आईपीओ) र थप प्राथमिक निष्कासन (एफपीओ) बिक्री गर्दा अधिकतम सीमा र संस्थागत लगानीको बन्देज खारेज भएको छ । अबदेखि संस्थागत लगानीले पनि आईपीओ तथा एफपीओमा सुरुमै आवेदन गर्न सक्ने छन् भने यसअघि तोकिएको अधिकतम सीमा हटाइएकाले जतिपनि लगानी गर्न पाउने छन् ।
नेपाल धितोपत्र बोर्डले मङ्गलबार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ संशोधन गरेर यस्तो सुविधा दिएको हो । यसअघि निस्कासन भएको सुरुका ४ दिनसम्म सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे मात्रै संस्थागत लगानीकर्ताले आवेदन गर्न पाउँथे । यसअघि कुल निष्कासनको ०.५ प्रतिशतसम्म मात्र अधिकतम आवेदन दिन पाउने व्यवस्था थियो ।
निष्कासन भइरहेका एफपीओ र आगामी दिनमा हुने आईपीओलाई हेरेर यस्तो निर्णय भएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । ‘प्रिमियमसहित निष्कासन भएका आईपीओ र एफपीओमा यो व्यवस्था लागू हुन्छ,’ उनले भने, ‘आगामी धेरै सेयर बजारमा आउने चरणमा रहेकाले बेलैमा निर्देशिका संशोधन गरेर अघि बढिएको हो ।’ यसले प्रिमियमसहितको आईपीओ र एफपीओ निष्कासन भएकै दिनदेखि संस्थागत लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।
प्रतिकित्ता २ सय ३३ रुपैयाँ प्रिमियमसहित ३ सय ३३ रुपैयाँमा एनएमबि बैङ्कले बिक्री गरेको एफपीओ बिक्री नभएपछि धितोपत्र बोर्डले निष्कासन नियमावलीमा संशोधन गरेको हो । यो निर्णयबाट छिट्टै एफपीओ निष्कासन गर्ने चरणमा रहेको नेपाल बैङक र प्रिमियम मूल्यसहित आईपीओ निष्कासनका क्रममा रहेका कम्पनीहरुलाई राहत पुग्ने भएको छ । एफपीओ वा प्रिमियम सहितको आईपीओ समयमै बिक्री नहुँदा कम्पनीको ‘गुडविल’मा समेत प्रश्न उठ्ने गरेको पाइन्छ । यो निर्णयसँगै यस्ता समस्या समाधान हुनेछन् ।
एनएमबि बैङ्कले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरिरहेको छ । जसमा अधिकतम ५७ हजार ७० कित्ता मात्र आवेदन गर्न सकिने व्यवस्था थियो । सोमबारसम्म एनएमबि बैङ्कको एफपीओ ५० प्रतिशत पनि बिक्री हुन सकेको थिएन । नयाँ व्यवस्थाले अब संस्थागत लगानीकर्ताले ५७ हजार ७० कित्ताभन्दा बढी जतिपनि आवेदन गर्न पाउने छन् । एनएमबि बैङ्कको एफपीओमा आवेदन गर्न रुचि देखाएका संस्थागत लगानीकर्ताले अधिकतमको सीमा हटाउन निष्कासनकर्तालाई सुझाव दिएका थिए ।
नेपाल बैङ्कले पनि प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियमसहित २ सय ८० रुपैयाँका दरले झन्डै ५ अर्ब रुपैयाँबराबरको थप प्राथमिक निष्कासन केही दिनमा गर्दैछ । उसले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निष्कासन गर्दैछ ।