फेरि सर्यो बाहिरी चक्रपथ बनाउने मिति, दसैंपछि मात्रै काम सुरु हुने

साउनदेखि निर्माण गरिने भनिए पनि विविध कारणले दसैंपछि मात्र सुरु हुने काठमाडौं उपत्यका विकास प्राधिकरणअन्र्तगतको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला जोड्ने बाहिरी चक्रपथको निर्माण मिति सरेको छ । यसअघि साउनदेखि निर्माण गरिने भनिए पनि विविध कारणले दसैंपछि मात्र सुरु हुने काठमाडौं उपत्यका विकास प्राधिकरणअन्र्तगतको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ । असार/साउनमा अत्यधिक वर्षा हुने र काममा बाधा पुग्ने भएकाले आगामी दशैंपछि मात्रै काम सुरु गर्न सम्भव देखिएको आयोजनाका शाखा अधिकृत धु्रवप्रसाद सापकोटाले जानकारी दिए ।

उनले मुआब्जाको विवाद नभएको, चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेको र मन्त्रालयबाट स्वीकृत भएपछि काम सुरु हुने बताए । ‘चक्रपथ निर्माणका लागि जग्गा प्राप्ति र डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएको छ,’ उनले भने, ‘सहरी विकास मन्त्रालयले जग्गा प्राप्तिसम्बन्धी पुनः स्वीकृत नगरिदिँदा काम सुरु हुन नसकेको हो ।’

जग्गा प्राप्तिसम्बन्धी ऐन २०३४ मा जग्गा प्राप्तिसम्बन्धी व्यवस्था छुटेको र २०४५ मा संसोधन भएपछि ‘प्रचलित कानुनबमोजिम जग्गा प्राप्ति गर्ने’ भन्ने उल्लेख रहेकाले त्यसको स्वीकृत र प्रक्रिया पूरा गर्नुपर्दा आयोजना निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । परिवर्तित राजनीतिक नेतृत्व, कर्मचारीको प्रभाव र प्रक्रियागत ढिलाइले कार्यान्वयन पक्षमा बाधा पुगेको सापकोटाले बताए ।

यता सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माणमा कुनै समस्या नभएको जनाएको छ । भूमाफियाको चलखेल र राजनीतिक नेतृत्व परिवर्तनले केही चुनौती सिर्जना गरेकाले चक्रपथ निर्माण प्रक्रियामा ढिलाइ भएको मन्त्रालय स्रोतले जनाएको छ ।

उपत्यकाभित्र तीन जिल्लालाई एक फन्को मार्ने उक्त चक्रपथको लम्बाई ७२ किलोमिटर हुनेछ । पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको ट्रयाक खोलिने छ । ५० मिटर फराकिलो हुने गरी निर्माण हुने चक्रपथ ८ लेनको बन्ने छ । काठमाडौं उपत्यकामा ३५ दशमलव ८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी लम्बाई जोडिएर बाहिरी चक्रपथको प्रारुप तयार भएको छ ।

त्यस्तैगरी ललितपुरमा लुभु, धापाखेल, बागमती क्षेत्रमा चक्रपथ विस्तार हुने छ । भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङडोल, भातेढिकुरो, नयाँठिमी, दधिकोट क्षेत्रमा जोडिएर बाहिरी चक्रपथ निर्माण हुनेछ । न्यूनतम ६–६ मिटर चौडामा सवारीसाधन गुड्ने दुई रुट बन्ने छन् । दुवै साइडतर्फ २–२ मिटरमा साइकल लेन बन्ने छ । त्यस्तै दुवैतर्फ फुटपाथ वा पैदलमार्ग र ग्रिनबेल्ट हुने छन् ।

चक्रपथ निर्माणका लागि प्रभावित क्षेत्रका बासिन्दाहरुले ७ प्रतिशत जग्गा योगदान गर्नुपर्ने छ । त्यसबापत ट्रयाक निर्माण पश्चात् २० मिटर आसपासको जग्गा प्लटिङ हुने सापकोटाले बताए । १० वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिएको चक्रपथ निर्माणका लागि झन्डै ७२ अर्ब रुपैँया लाग्ने अनुमान गरिएको छ ।