महानगरपालिका र ट्राफिक व्यवस्थापन महाशाखाको समन्वयमा उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन लागिएको हो ।
काठमाडौं उपत्यकाका एक सय ४३ स्थानमा निश्चित समयमा पार्किङ गर्न पाइने छ । अस्तव्यस्त काठमाडौं उपत्यकाको पार्किङलाई अगामी दुई हप्ताभित्र व्यवस्थित बनाउनेगरी काठमाडौं महनगरपालिकाले प्रक्रिया अघि बढाएको छ । महानगरपालिका र ट्राफिक व्यवस्थापन महाशाखाको समन्वयमा उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन लागिएको हो ।
पार्किङ व्यवस्थापन गर्न कुल एक सय ४३ स्थान निश्चित समयका लागि तोकिएका छन् । जसमध्ये ट्याक्सीका लागि ६० स्थान तोकिएको छ भने निजी सवारीका लागि ८३ स्थान तोकिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए । एसएसपी पन्तका अनुसार ट्याक्सीलाई भोटाहिटी, ठमेल, कृष्ण पाउरोटी, महाराजगञ्ज, चक्रपथ, लैनचौर, भाटभटेनि, कोटेश्वर, बालाजू, स्वयम्भुलगायत ६० ओटा निश्चित स्थान तोकिएको छ ।
त्यस्तै निजी सवारीलाई दरबार मार्ग, रानीपोखरी, पुतलीसडक, डिल्लीबजार, सुनधारा, न्युरोड, कालिमाटी, बल्खु, चाबहिल, बौद्ध, रत्नपार्क लगायतका ८३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिने बताइएको छ । पार्किङका लागि एउटा सावारीसाधनले बढीमा दुई घण्टासम्म राख्न पाउने नियम बनाइएको छ ।
अब उपत्यकालगायत अन्य स्थानमा हुँदै आएको अव्यवस्थित पार्किङ्लाई पूर्णरुपमा विस्थापन गरिने एसएसपी पन्तले बताएका छन् । उनले काठमाडौंमा पार्किङको समस्याका कारण सेवाग्राहीलाई मर्का परिरहेको भन्दै महानगरपालिका र ट्राफिक महाशाखाको समन्वयमा यो कार्य गर्न लागेको बताए ।
पन्तले अहिले राजधानीमा प्राइभेट सवारीसाधनलाई पार्किङ गर्न शुल्क तिर्नु परिहेको बताउँदै अब त्यो परिपाटी अन्त्य हुने बताएका छन् । महाशाखाले आजैबाट बोर्ड तथा अन्य सूचना प्रचारप्रसार गर्न थालिसकेको पन्तको भनाइ छ । ’हाम्रो लक्ष्य भनेको सवारीसाधन व्यवस्थित गर्ने र दुर्घटना न्यूनीकरण गर्ने हो,‘ उनले भने ।
केही दिनअघि काठमाडौं महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको जीपीएस प्रणाली जडानका लागि सम्भाव्यता अध्ययन सुरु गरिने बताएको थियो । अहिले उक्त जीपीएस प्रणालीको सम्भाव्यता अध्ययका सुरु भइसकेको उनले जानकारी दिए ।
राजधानीमा गत बिहीबार सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रममा जीपीएस प्रणाली लागू भएपछि जथाभावी बस रोक्ने परिपाटी अन्त्य हुने बताइएको थियो । निर्धारित समयमा यात्रुले सवारीसाधन आगमनको यथार्थ विवरण थाहा पाउन सकिने जानकारी दिइएका थियो । पन्तका अनुसार दीर्घकालीन रुपमा १० स्थानमा सुविधामूलक पार्किङको व्यवस्था गरिने छ ।
महानगरपालिकाले पहिले पनि यो कार्य लागू गर्न खोजेको थियो, तर कार्यान्वयनमा भने आउन सकेको थिएन । ‘अब पहिलाको जस्तो जे गरेपनि हुन्छ भन्ने नसोचे हुन्छ,’ पन्तले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘हामीले दीर्घकालीन सोचका साथ यो कार्य अघि सारेका हौं ।’ अगामी दिनमा जथाभावी पार्किङ गर्ने तथा नियम विपरीत सवारी रोक्नेलाई कानुनअनुसार कारवाही हुने समेत पन्तले बताए ।