पाँच क्षेत्रमा विभाजन गरी १३२/४०० केभी लाइन बनाएर पूर्वाधार निर्माण गर्न लागिएको हो । ट्रान्समिसन लाइन बनाउन वैदेशिक सहायता लिइनेछ ।
सरकारले ६ खर्ब रुपैयाँ लागतमा प्रसारण लाइन बनाउने गरी गुरुयोजना तयार गरेकाे छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रसारण लाइन बनाउन गुरुयोजना बनाइएको बताएका छन् ।
आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गरी सञ्चालनमा आएपछि त्यसलाई राष्ट्रिय प्रसारणमा जोड्न यस्तो गुरुयोजना बनाइएको उनको भनाइ छ । पाँच क्षेत्रमा विभाजन गरी १३२/४०० केभी लाइन बनाएर पूर्वाधार निर्माण गर्न लागिएको हो । ट्रान्समिसन लाइन बनाउन वैदेशिक सहायता लिइनेछ । ४ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न लाइन हब बन्नेछ ।
गुरुयोजना अनुसार प्रसारण लाइन बनाउन ३ खर्ब ७६ अर्ब र सबस्टेनसन बनाउन २ खर्ब २६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको हो ।
पाँच ओटा क्षेत्रमा वर्गीकरण गरी ठूला तथा साना जलविद्युत् आयोजना, मुख्य उत्पादन, प्रसारण तथा सबस्टेसन हब, विद्युत् निर्यात गर्न क्रसबोर्डर ट्रान्समिसन लाइनका आधारमा गुरुयोजना निर्माण गरिएको मन्त्री पुनले बताए ।
मास्टर प्लानअनुसार, क्षेत्र १ मा कर्णाली, सेती र महाकाली करिडोर रहनेछन् । उत्पादन आयोजनाहरुमा पञ्चेश्वर, बेतन कर्णाली, पश्चिम सेती रहनेछन् । तीन हजार ४ सय ८० मेगावाट पञ्चेश्वर, एक हजार एक सय ३९ मेगावाट पश्चिम सेती र एक हजार ५ सय २ मेगावाट बेतन कर्णालीबाट उत्पादन हुने छ । त्यस्तै अत्तरिया र डोडोधारा मुख्य प्रसारण हब बन्नेछन् । त्यो क्षेत्रमा डोडोधारा—बरेली र अत्तरिया—बरेली क्रस बोर्डर प्रसारण लाइनबाट विद्युत् निर्यात हुने छ ।
त्यस्तै क्षेत्र २ मा भेरी करिडोर निर्माण हुनेछ । नौमुरे जलाशय, उत्तरगङगा, नलगाढ, भेरी—३ जलाशय आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । फूलबारी र मैनाटाडा मुख्य प्रसारण लाइन हब बन्नेछन् । फुलबारी—लखनउ ४०० केभीए क्रसबोर्डर प्रसारण लाइन निर्माण हुने छ ।
क्षेत्र ३ मा, कालीगण्डकी र मस्र्याङ्दी करिडोर निर्माण हुनेछ । कालीगण्डकी कोवाङ, अप्पर मस्र्याङ्दी र मनाङ मस्र्याङ्दीबाट विद्युत् उत्पादन भई बुटवल र भरतपुर प्रसारण हबमा जोडिने छ । बुटवल—गोरखपुर क्रसबोर्डर प्रसारण लाइन निर्माण भई विद्युत् निर्यात गर्ने गुरुयोजना निर्माण भएको छ ।
क्षेत्र ४ मा, तामाकोसी—३, सुनकोसी—२ र सुनकोसी—३ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । ती आयोजनबाट उत्पादित विद्युत् त्रिशूली—चिलिमे—काठमाडौं, खिम्ती, तामाकोसी करिडोरमा जोडिने छ । खिम्ती, ढल्केवर र हेटौंडामा सबस्टेसन निर्माण हुनेछ । विद्युत् निर्यात तथा आयात गर्न ४ सय केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन क्रमशः चिमिले—केरुङ, ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइन निर्माण हुनेछ ।
त्यस्तै, क्षेत्र ५ मा किमाथाङ्का, तमोर जलाशय, तल्लो अरुण र माथिल्लो अरुण आयोजनाबाट विद्युत् उत्पादन भई कोसी र अरुण करिडोरमा जोडिने छ । इनरुवा र मिर्चिया सबस्टेसन निर्माण हुने छ । ४ सय केभीका इनरुवा—पूर्णिया र किमाथाङ्का—लात्से क्रसबोर्डर प्रसारण लाइन निर्माण हुनेछ ।