धराहरा बनाउन ५ कम्पनीको आर्थिक प्रस्ताव असार २६ मा खोलिने

आवेदन दिएका कम्पनीहरुमध्ये ५ ओटा कम्पनी प्राविधिक प्रस्ताव योग्य देखिएकाले तिनीहरुको आर्थिक प्रस्तावका आधारमा छनौट गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

आगामी एक हप्ताभित्र ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि कम्पनी छनोट हुने भएको छ । यसअघि धराहरा निर्माणका लागि बोलपत्र आह्वान गर्दा विभिन्न ६ कम्पनीहरुले आवेदन दिएका थिए ।

आवेदन दिएका कम्पनीहरुमध्ये ५ ओटा कम्पनी प्राविधिक प्रस्ताव योग्य देखिएकाले तिनीहरुको आर्थिक प्रस्तावका आधारमा छनौट गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनले प्राविधिक प्रस्ताव योग्य बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव चार/पाँच दिनभित्र खोलिने र त्यसपछि कम्पनी छनौट एक हप्ताभित्रै हुने जानकारी दिए । ‘पाँच कम्पनीको प्रस्ताव प्राविधक रुपमा सफल देखिएको छ,’ उनले भने, ‘ती कम्पनीहरुको आर्थिक प्रस्ताव मूल्याङ्कन भइरहेको छ । ४/५ दिनभित्र आर्थिक प्रस्ताव खोलेपछि कम्पनी छनौट हुन्छ ।’

धराहरा निर्माणका लागि प्राविधिक प्रस्ताव योग्य देखिएका पाँचै कम्पनी चिनियाँ हुन् । जेडआईईसी लामा जेभी, महाराजगञ्ज, सीआर ५ स्वच्छन्दा जेभी, कुमार सीएफईसी जेभी, जीआईईटीसी रमन जेभी, किको कालिका रसुवा जेभी कम्पनी बोलपत्रदाता तथा प्राविधिक प्रस्ताव योग्य भएका कम्पनी हुन् । आगामी असार २६ गते प्राविधिक प्रस्ताव योग्य भई छनौट भएका बोलपत्रदाता कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्नेबारे प्राधिकरणले यसअगाडि नै सूचना प्रकाशित गरेको थियो । आर्थिक प्रस्ताव छनौट गर्न तीन सदस्यीय प्राविधिक समितिले मूल्याङ्कन गरिरहेको प्रवक्ता दवाडीले बताए ।

आर्थिक प्रस्तावमा जुन कम्पनीले कम लागतमा निर्माण गर्ने प्रस्ताव गर्छ, त्यही कम्पनीलाई धराहरा निर्माण गर्न दिइने दवाडीले बताए । गत २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण धराहरा क्षतिग्रस्त भएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि अझै धराहराको जग बस्न सकेको छैन ।