असमान समाजको निर्माण

अमेरिकी असमानता यत्तिकै भएको होइन । अमेरिकी असमानताको त सिर्जना गरिएको हो । बजारको प्रभावका कारण पनि असमानता सिर्जना भएको हो । तर, बजारको प्रभाव मात्र पनि असमान समाज निर्माणको एकल कारण होइन । एउटा अर्थमा, यो स्वाभाविक पनि हो । किनकि, आर्थिक नीतिहरु विश्वभर एउटै हुन्छन् । तर, अमेरिकी समाजमा बढ्दो असमानता र उच्च एक प्रतिशतमा निर्भर अर्थतन्त्र तात्त्विक रुपमा अमेरिकी ‘उपलब्धि’ हो । त्यो अत्यन्त ठूलो असमानता पहिले नै निश्चित भएको आशा होइन र यथार्थमा यो झन् खराब हुन सक्ने सम्भावना उत्तिकै छ ।

असामनताको कारकबारे बुझेर हामीले असमानता न्यूनीकरणमा लाग्ने खर्च र त्यसबाट हुने फाइदाबारे जानकारी लिन सक्छौँ । त्यसैले बजारका अवयवहरुले असमनताको खाडल सिर्जना गर्न वा त्यसलाई आकार दिन सहयोग गरे पनि बिर्सनुहुँदैन, बजारको प्रभाव र बजारबारे नीति बनाउनेचाहिँ सरकारले हो ।

अहिले सिर्जित असामनताको प्रमुख कारक सरकारी नीति । यसमा दुवै विषय पर्छ । पहिलो सरकारले के गर्छ र दोस्रो, सरकारले के गर्दैन । सरकारले लिने नीति र यी दुवैका कारण असमान समाजको निर्माण भइरहेको हुन्छ । सरकारसँग उच्च तहबाट मध्यम तथा तल्लो तहमा वा तल्लो तहबाट माथिल्लो तहसम्म पैसाको सञ्चालन गर्ने वा परिचालन गर्ने शक्ति हुन्छ ।

अमेरिकामा अहिले पछिल्लो समयको असमानता असामान्य छ । अरु देशहरुसँग तुलाना गर्दा होस् या अमेरिकी इतिहाससँग तुलाना गर्दा नै किन नहोस्, विगतमा भएको असमानताको खाडलभन्दा अहिलेको असमानता निकै ठूलो छ । झन् डरलाग्दो कुरा त के भने यो असमानताको यो दूरी झन्झन् बढ्दो छ । र, यो बढ्दो क्रम अत्यन्त द्रुत गतिमा छ ।

पहिले भनिन्थ्यो, असमानतामा हुने भिन्नता थाहा पाउन अत्यन्त कठिन हुन्छ । असामनताको बढ्दो क्रमलाई अध्ययन गर्नु भनेको कुनै बढ्दो घाँसलाई याद गर्नु हो भनिन्थ्यो, जुन थाहा पाउन मुस्किल पर्छ । छोटो समयमा यो थाहा पाउन झन् असम्भवप्रायः हुन्छ । तर, अब यो कुरा सत्य रहेन ।

तर, यो आर्थिक मन्दीको समयमा जे भइरहेको छ, त्यो पनि असामान्य छ । सामान्यतया जब अर्थतन्त्र कमजोर हुन्छ, तब रोजगारीका अवसर कम हुन्छन्, तलबलगायतका सेवासुविधामा कमजोरी देख्न थालिन्छ । मुख्य कुरा त कम्पनीहरुको फाइदा कम हुन थाल्छ । तुलनात्मक रुपमा उनीहरु घाटामा जान्छन् । तर, यो अमेरिकी मन्दीमा तलबभत्ता कमजोर भए, रोजगारीका अवसर कम भए पनि विभिन्न कम्पनीको नाफाचाहिँ निकै बढी रह्यो ।

वास्तवमा असमानतालाई सम्बोधन गर्न बहुमुखी नीतिको तर्जुमा गर्नुपर्ने हुन्छ; उच्च तहमाथि नियन्त्रण गर्नु, मध्यम वर्गलाई सशक्तीकरण गर्नु र तल्लो तहमा रहेकालाई सहयोग गर्नुपर्ने हुन्छ । यी सबै उद्देश्य प्राप्तिका लागि फरकफरक आआफ्नै कार्यक्रम गर्नुपर्ने हुन्छ । तर, यस्ता कार्यक्रम स्थापना गर्न प्रत्येक असमानताका कारकबारे हाम्रो बुझाइ ठोस हुनुपर्छ ।

सबैभन्दा महत्त्वपूर्ण बुझाइ के हुनुपर्छ भने अहिले हामीले भोगिरहेको असमानता आफैमा नयाँ विषयचाहिँ होइन । पश्चिमका समाजमा आर्थिक र राजनीतिक शक्ति एकअर्कासँग अत्यन्त मिलेका थिए, उनीहरुको गठबन्धन निकै कसिलो थियो । त्यो समयमा धर्मले असमानताबारे प्रस्ट्याएको मात्र थिएन, यसलाई परिभाषित पनि गरेको थियो । धर्मले दिने असमानताको कारण दैवी शक्ति मुख्य थियो । यसमा प्रश्न उठाउनु भनेको सामाजिक संरचनामा प्रश्न उठाउनु वा अझ भगवानलाई प्रश्न गर्नु हो जस्तो ठानिन्थ्यो ।

तर, आधुनिक अर्थशास्त्री तथा राजनीतिशास्त्री यो कुरा मान्दैनन् । पहिले ग्रिकमा पनि यो कुरा मानिएन । उनीहरुले शक्ति, अधिकांश समयमा सैन्यशक्तिलाई असमानताको मुख्य कारक मान्दै आएका छन् । सेना र सैनिक बढी अर्थतन्त्र थियो ः किनकि जसले जित्थ्यो, उसले हार्नेबाट जति सक्छ, त्यति लिन पाउँथ्यो । जोसँग शक्ति थियो, उनीहरुले आफ्नो राजनीतिक र आर्थिक शक्ति फैलाउन त्यही शक्तिको प्रयोग गरे । शक्ति फैलाउन प्रयोग नभए पनि उनीहरुले आफ्नो शक्ति कायम राखिराख्न अनेकौं प्रयास गरे ।

जब दैविक शक्तिको कारक रिजेक्ट भयो, तब केही देशमा शक्ति आफ्नो हातमा भएका मानिसहरुले आफूलाई शक्तिमा राखिरहन अरु आधारहरुको खोजी गर्न थाले । झन्, औद्योगिक क्रान्तिपछि सहरी क्षेत्रमा बढेको असमानतालाई जस्टिफाई गर्ने कारण कम भेटिए । माक्र्सलगायतले असमानताको चर्को आलोचना गरेपछि असमानताका कारकबारे शक्तिमा रहेका व्यक्तिहरुले आफ्नो इज्जत र प्रतिष्ठा जोगाउनका लागि अनेक उपाय सोच्न थाले ।
१९औं शताब्दीको उत्तराद्र्धतिर एउटा नयाँ सिद्धान्तले असमानतालाई व्याख्या गर्ने प्रयास गरियो । त्यही अस्त्रलाई अद्यापि प्रयोग गरिँदै आएको छ । र, त्यो सिद्धान्त हो– किनारीकृत उत्पादन सिद्धान्त । यो सिद्धान्तअनुसार जसले धेरै उत्पादन गर्छन्, उनीहरुले धेरै रिटर्न पाउँछन् । प्रतिस्पर्धी बजार, माग र उत्पादनको अध्ययनअनुरुप कामले प्रत्येक व्यक्तिको योगदान निर्धारित गर्छन् । यदि कसैसँग कुनै दक्षता छैन भने उसको आय पनि कम हुन्छ । यदि कोही कुनै काममा दक्ष छ भने बजारले पनि उसलाई त्यहीअनुरुप मूल्याङ्कन गर्छ र उसको आय पनि बढी हुन्छ । हुन त प्रविधिले अधिकांश समय केही उत्पादनको क्षमतामा पनि प्रभाव पार्छ । जस्तो कृषिमा निर्भर अर्थतन्त्र, शारीरिक शक्तिको जुन भूमिका हुन्छ, अहिलेको समयमा बौद्धिकताको त्यसभन्दा बढी मूल्याङ्कन हुन्छ ।

प्रविधि र अभाव, माग र उत्पादनको सामान्य सिद्धान्तले अहिलेको असमान समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । तर, त्यसलाई कायम राख्न अर्को एउटा विषय अत्यन्त महत्त्वपूर्ण हुन्छ । र, त्यो अर्को अत्यन्त महत्त्वपूर्ण कुरा भनेको सरकार हो । त्यसैले, असमानता राजनीतिक शक्तिहरुको ‘रिजल्ट’ हो । तर, बिर्सनुहुँदैन यसमा आर्थिक कारणहरु पनि त्यति नै भूमिका खेल्छन् ।

अहिलेको अर्थतन्त्रमा सरकारले विभिन्न नीतिनियमको निर्धारण गर्छ । उसले कुन काम अवैधानिक हो, कुन काम स्वस्थ प्रतिस्पर्धात्मक हो, कसले कस्तो सजाय पाउने, टाट पल्टिएको अवस्थामा के गर्ने भन्ने सबै विषयमा सरकारले नै निर्धारण गर्छ । सरकारले स्रोतहरुको परिचालनका लागि पनि अवसर दिन्छ । र, कर तथा सामाजिक उत्तरदायित्वबाट सरकारले पैसा उठाएर बजारमा समान रुपमा राजनीति तथा अन्य माध्यमबाट त्यो आयको वितरण गर्छ ।

र, अन्ततः सरकारले सम्पत्तिका आयामहरुबारे जागरुक बनाउँछ, निःशुल्क शिक्षालगायतका विषयमा ध्यान दिन्छ । तर, यसले मात्र असमान समाज निर्माणमा भूमिका खेल्दैन । त्यसो त असामनता भनेको दक्ष जनशक्ति र अदक्ष जनशक्तिलाई बजारले कति मूल्य दिन्छ भन्नेले पनि निर्धारण गर्दैन । अर्थशास्त्रीहरु असमानता आर्थिक तथा मानवस्रोतलगायत सम्पत्तिको वितरणले निर्धारण गर्नेमा विश्वास गर्छन् ।

(अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका जोसेफको पुस्तक द प्राइस अफ इनइक्वालिटीबाट अनौपचारिक अनुवाद ।)