चरिकोट खाडीचउर सडकखण्ड मर्मत गर्न दोउवा सङ्घको ४ बुँदे ध्यानाकर्षण

सडकको खाल्डाखुल्डीका कारण वर्षा याममा आवत जावतमा समस्या भएको र सामान ढुवानी गर्न समेत असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामार्फत ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए ।

चरिकोट खाडीचउर सडकखण्डको मर्मत गर्न दोलखा उद्योग वाणिज्य सङ्घले सरकारलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सडक निर्माणको नाममा ठेकेदारले सडक भत्काएर मात्र राखेको र जनतालाई सास्ती दिएको भन्दै उद्योग वाणिज्य सङ्घ दोलखा आन्दोलित भएको हो ।

सडकको खाल्डाखुल्डीका कारण वर्षा याममा आवत जावतमा समस्या भएको र सामान ढुवानी गर्न समेत असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामार्फत ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । उनले सडकमा हिलो जमेका स्थानहरुमा पानीको सहज निकासका लागि नाला खोल्नु पर्ने, खाल्डाखुल्डी तथा हिलाम्मै क्षेत्रमा ग्राभेल गर्नु पर्ने, पहिरो जान सक्ने सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा डोजरको व्यवस्था गराउनु पर्ने र उक्त सडक सम्पन्न हुने मिति तत्काल तोक्नुपर्ने माग राखिएको बताए ।

यस्तै चरिकोट, दोलखा बजार र दोलखा सिँगटी सडकसमेत विस्तार भइरहेकाले दुवै सडकमा नर्माणका क्रममा देखिएका लापरवाही बन्द गरी समयमै निर्माण सम्पन्न गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन् । तत्कालका लागि आउजाउ सहज बनाउन मिल्ने गरी सडक नबनाए नेपाल सरकार, सडक विभाग, सडक विस्तारको जिम्मा पाएको निर्माण व्यवसायी र परामर्शदाता कम्पनीविरुद्ध कडा अन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।