बैङ्किङ कारोबारले सदरमुकाम भिडभाड

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको सुरुदेखि नै बैङ्कमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैङ्कमा लाग्ने गरेको छ ।

बैतडी जिल्लाका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा सदरमुकामका बैङ्कमा उपभोक्ताको भिडभाड बढेको छ ।

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको सुरुदेखि नै बैङ्कमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैङ्कमा लाग्ने गरेको छ ।

बैङ्कमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैङ्किङ कारोबारकै लागि सदरमुकाम आएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैङ्क स्थापना भएपनि सबै कारोबार वाणिज्य बैङ्कमार्फत हुने गरेको बताउँछन् ।

गत वर्ष साउनमै स्थानीय तहमा बैङ्क स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार सुरु भएदेखि निकै भिड बढेको छ । बैङ्कबाट भुक्तानी लिनेको भिड बढ्दा कारोबार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण सदरमुकाम धाउन बाध्य छन् ।