खासगरी अविरल वर्षाका कारण मदन भण्डारी राजमार्ग, पोखरा—बागलुङ सडकखण्ड, कालीगण्डकी करिडोर बागलुङ खण्ड, अरनिको र बिपी राजमार्ग, मध्यपहाडी राजमार्ग अन्तर्गतको सिन्धुलीखण्ड, सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।
गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरका सडकखण्ड तथा मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । सडकखण्डमा पहिरो जाने, भाँसिने तथा डुबानमा परेपछि त्यस्ता राजमार्ग अवरुद्ध भएका हुन् । खासगरी अविरल वर्षाका कारण मदन भण्डारी राजमार्ग, पोखरा—बागलुङ सडकखण्ड, कालीगण्डकी करिडोर बागलुङ खण्ड, अरनिको र बिपी राजमार्ग, मध्यपहाडी राजमार्ग अन्तर्गतको सिन्धुलीखण्ड, सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।
मदन भण्डारी राजमार्गअन्तर्गत हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षाले हेटौँडा काठमाडौंतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । अविरल वर्षासँंगै सडक पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।
त्यस्तै वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्ताका कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।
बिपी राजमार्गका धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मङ्गलटारलगायत ठाउँमा सडक अवरुद्ध छन् । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । मध्यपहाडी राजमार्ग सिन्धुलीखण्डअन्तर्गत सुनामबँेसीमै माथिबाट माटोको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गभन्दा माथिबाट ग्रामीण सडकको नयाँ मार्ग खनिएकाले माथिबाट खस्ने लेदो माटाका कारण राजमार्ग अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर बागलुङ खण्ड अवरुद्ध छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ खण्डमा पनि ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध रहेको त्यहाँबाट स्थानीयले बताएका छन् । सिद्धार्थ राजमार्गका विभिन्न क्षेत्रमा पनि पहिरो गएपछि यातायात अवरुद्ध रहेको जानकारी प्राप्त भएको छ ।
अवरुद्ध भएका सडकखण्ड तथा राजमार्ग खुलाउन तत्काल प्रयास भइरहेको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । उनले अवरुद्ध भएका सडकमा स्काभेटर, डोजर तथा उपकरणहरु तयारी अवस्थामा रहेकाले पानी रोकिएपछि तत्काल सडक खुलाउन लाग्ने उनले बताए । ‘यात्रुलाई सास्ती नहोस् भनेर हरेक सडकखण्ड तथा राजमार्गमा सडक खुलाउने उपकरण तयारी अवस्थामा छन्’ उनले भने, ‘केही ठाउँमा त सडक खुलिसक्यो होला । अरु ठाउँमा पनि काम भइरहेको छ ।’ राससको सहयोगमा