राम्रो कमाइ गर्ने २० प्रतिशत युवा बैङ्कमा पुग्दैनन्

हाल वित्तीय संस्थामा २ करोड २५ लाख निक्षेप र १२ लाख ८७ हजार ऋण खाता छन् । त्यस्तै २ हजार ६ सय २४ एटीएम काउन्टर, मोबाइल बैङ्किङका ग्राहक ४० लाख, इन्टरनेट बैङ्किङका ग्राहक ७ लाख ८४ हजार र डेबिट कार्ड ५२ लाख ३५ हजार तथा क्रेडिट कार्ड ९७ हजार प्रयोगमा छन् ।

मुलुकमा राम्रो कमाइ गर्ने वर्गमा पर्ने २० प्रतिशत युवाहरु बैङ्किङ प्रणालीमा जाने गरेका छैनन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकमा कमाइ गर्ने २० प्रतिशत युवा बैङ्कसम्म नपुग्ने गरेको बताएका हुन् ।

बैङ्क तथा वित्तीय संस्थाको शाखा बढेपनि युवा जमात नै वित्तीय प्रणालीमा नजोडिएको गभर्नर नेपालले जानकारी दिए । ‘२० प्रतिशत युवाहरु कमाउँछन्, पैसा खल्तीमा राख्छन्, खर्च गर्छन् सकाउँछन्, बैङ्कमा जाँदैनन् वा बैङ्कलाई मतलब गर्दैनन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘यो जमातलाई वित्तीय प्रणालीमा ल्याउनु सबैभन्दा ठूलो चुनौती देखिएको छ ।’ बैङ्क शाखा पुगेपनि ६० प्रतिशतभन्दा बढी मानिस अहिले पनि घरमै पैसा राख्न मन पराउने गरेको गभर्नर नेपालले जानकारी दिए ।

राष्ट्र बैङ्कमा आफू आउँदा करिब ४० प्रतिशत क्षेत्रमा मात्रै बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति रहेको भन्दै उनले अगाडि थपे, ‘अहिले ८५–९० प्रतिशत क्षेत्रमा वित्तीय संस्था पुगेका छन् । अब एक सय स्थानीय तहमा मात्रै बैङ्क पुग्न बाँकी छ ।’ बाँकी स्थानमा छिट्टै शाखा विस्तार हुने उनको भनाइ छ । ५२ प्रतिशतले ऋण लिए पनि जम्मा ४२ प्रतिशतले निक्षेप राख्ने गरेको गभर्नर नेपालले बताए ।

६० प्रतिशत जनसङ्ख्या अझै पनि बैङ्कमा पैसा राख्नुपर्छ भन्ने बारेमा सुसूचित नरहेको गभर्नर नेपालको भनाइ छ । ‘यो जनसङ्ख्यालाई वित्तीय संस्थामा ल्याउनु चुनौतीपूर्ण रहेकाले राष्ट्र बैङ्क वित्तीय साक्षरता अभियान लिएर अघि बढेको छ,’ उनले भने, ‘तर, नयाँ बैङ्क शाखा खुलेसँगै ती ठाउँबाट विस्तारै निक्षेप पनि बढ्दै गएको छ ।’ एउटा बैङ्कले विभिन्न नयाँ ठाउँमा शाखा खोल्दा ३६–४० अर्ब रुपैयाँ निक्षेप बढेको भन्दै गभर्नर नेपालले नेपालीहरुमा बैङ्किङ बानी नभएकाले बैङकिङ बानी बसाउन धेरै नै कसरत गर्नुपर्ने अवस्था रहेको बताए ।

२०७५ जेठसम्म वाणिज्य बैङ्कहरुको शाखा २ हजार ९ सय १९, विकास बैङ्कहरुको शाखा ९ सय ५१, वित्त कम्पनीहरुको शाखा १ सय ८३ र लघुवित्त संस्थाहरुको शाखा २ हजार ३ सय ६५ गरी ६ हजार ४ सय १८ शाखा पुगेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ । हाल बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा ४ हजार ४ सय ९० जनसङ्ख्याले सेवा प्राप्त गरेको देखिन्छ । २०७४ जेठमा यस्तो सङ्ख्या ५ हजार ८ सय ९ रहेको थियो । त्यसैगरी मौद्रिक नीतिअनुसार सङ्घीय व्यवस्थाअन्तर्गत गठित ७ सय ५३ स्थानीय तहमध्ये २०७५ असार २४ गतेसम्म ५ सय ५६ तहमा वाणिज्य बैङ्क पुगेका छन् ।

त्यसैगरी गत वैशाखसम्म वाणिज्य बैङक, विकास बैङ्क र वित्त कम्पनीहरुमा २ करोड २५ लाख निक्षेप खाता र १२ लाख ८७ हजार ऋण खाता छन् । त्यस्तै यस अवधिमा २ हजार ६ सय २४ एटीएम काउन्टर छन् भने मोबाइल बैङ्किङका ग्राहक ४० लाख, इन्टरनेट बैङ्किङका ग्राहक ७ लाख ८४ हजार र डेबिट कार्ड ५२ लाख ३५ हजार तथा क्रेडिट कार्ड ९७ हजार प्रयोगमा रहेको मौद्रिक नीतिमा उल्लेख छ ।