नबिल बैङ्कले मङ्गलबारदेखि एकसाथ देशका विभिन्न १२ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैङ्कले मङ्गलबारदेखि दुर्गम तथा पिछडिएका १२ स्थानमा एक साथ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले स्थापना भएका शाखाहरुको इलेक्ट्रोनिक उद्घाटन गरे ।
बैङ्कले डढेलधुराको आलिता, सुर्खेतको बराहताल, बजाङको वित्थडचिर, रुपेन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, कालिकोटको पचालझरना र पलाता, बैतडीको पन्चेश्वर, अछामको रामारोशन र तुर्माखादका साथै डोटीको सायल गाउँपालिकामा एक साथ शाखा सञ्चालनमा आएको हो ।
खतिवडाले पुस मसान्त भित्रमा सम्पूर्ण स्थानीय तहमा बैङ्किङ सेवा पुर्याइने बताए । दुर्गम स्थानमा खोलिएका शाखाको सुरक्षा दिन सरकार प्रतिबद्ध र सक्षम रहेकाले ढुक्कले वित्तीय पहुँच पर्याउन बैङ्कसँग खतिवडाले आग्रह गरे । नेपाल राष्ट्र बैङ्कका गभरनर डा चिरञ्जीवी नेपालले अबको ६ महिनामा प्रत्येक बैङ्कले प्रदेश शाखाको स्थापना गर्न पर्ने बताए । उनले नबिल बैङ्कले दुर्गमस्थानका नेपालीलाई गुणस्तरिय सेवा प्रदान गरिरहेको बताए ।
नेपालले देशका केही स्थानमा सुरक्षा र कनेक्टिभिटिको अभाव रहेकाले शाखा स्थापना गर्न समस्या भएको बताए । केही स्थानमा राजनीतिक दलका कार्यकर्ता आएर आफुहरुलाई जागिर नदिएको भन्दै शाखा बन्द गर्न परेको बताए ।
नबिल बैङ्कका सीईओ अनिल शाहले राष्ट्र बैङ्क र सरकारले तोकेको स्थानमा समयमै शाखा स्थापना गर्न निकै कठिन भएको बताए । उनले शाखा स्थापना भएका कतिपय ठाँउमा विद्युत, कनेक्टिभिटि, सुरक्षाको पहुँच पनि नभएको बताए । हाल नबिलको ७४ शाखा, १ सय १५ एटीएम र १ हजार ५ सय स्थानबाट नबिल रेमिट एजेन्टबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।