झोलुङ्गे पुलबाट पच्चीस सय घरधुरी लाभान्वित

रघुगङ्गा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो (३६५.८ मिटर) झोलुङ्गे पुल निर्माण गरेको छ भने अन्य १० अाेटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् ।

दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ अाेटा झोलुङ्गे पुलबाट दुई हजार पाँच सय घरधुरी लाभान्वित भएका छन् ।

पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको छ ।

रघुगङ्गा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो (३६५.८ मिटर) झोलुङ्गे पुल निर्माण गरेको छ भने अन्य १० अाेटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् ।

दुई करोड ७९ लाख ९० हजार एक सय रूपैयाँको लागतमा बनेको सो पुल २०७५ वैशाखदेखि सञ्चालनमा आएको थियो । यसबाट बेग र बादुक गाउँका बासिन्दालाई आवतजावत गर्न डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्नुका साथै पर्यटकको चहलपहल बढेको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

अन्य १० अाेटा पुल जिल्ला प्राविधिक कार्यालय, झोलुङ्गे पुल सहयोग कार्यक्रम (टीबीएसयू), स्वाप, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको सहकार्यमा निर्माण भएका हुन् ।

तीन करोड चार लाख ३९ हजार ४ सय ६४ रूपैयाँकाे लगानीमा निर्माण भएका १० अाेटा झोलुङ्गे पुलबाट दुई हजार ५ सय ३ घरधुरीका १४ हजार ५ सय ४६ जनसङ्ख्या लाभान्वित भएका मिलन म्याग्दीका प्राविधिक विष्णु पन्तले जानकारी दिए ।

धौलागिरि गाउँपालिका–४, जेल्तुङमा १ सय २ मिटर, धनमानेमा ५९ मिटर र छहरी खोलामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको छ । मालिका गाउँपालिकाको टाक्सेमा ६४, नुनथलामा ४५.७५, दोविल्नामा ६४, दाङखोलामा ६७ मिटर लामा झोलुङ्गे पुल निर्माण भएका छन् ।

यसैगरी, मङ्गला गाउँपालिका–५, अर्मनको आरुखोलामा ६९ मिटर, रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलको घ्याँसीखर्कमा ६३ मिटर र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको मर्नामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको टीबीएसयूका प्राबिधिक अधिकृत श्रीधर भण्डारीले बताए ।

पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका सिम्कोशकी ज्योति थापाले बताए । रासस