तनहुँ जलविद्युत् अायाेजनाको निर्माण कम्पनी छनोट

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम पावरहाउस, वाटरवे र अन्य निर्माण सामग्रीको काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनी छनोट गरेको छ ।

आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी कोपरेटिभ मुरातोरी एन्ड सिमेन्टिटी (सीएमसी) छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) रूपैयाँमा खरिद सम्झौता हुने छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम पावरहाउस, वाटरवे र अन्य निर्माण सामग्रीको काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि करबाहेक) रूपैयाँमा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहन गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ अाेटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ अाेटा कम्पनीहरुमध्ये दुई अाेटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आहन गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रसारण लाइन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) छ । यसमध्ये एसियाली विकास बैङ्क(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।