
सुपर ग्यासका उपभोक्तालाई ग्यास अभाव हुन नदिन नेपाल आयल निगमले वीरगन्ज वरपरका उद्योगमा लगेर सिलिन्डर भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सुपर ग्यास उद्योग आगलागीबाट पूर्णरुपमा नस्ट भएपछि निगमले सुपरका सिलिन्डर अन्य उद्योगमा लगेर भर्ने व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको हो ।
सुपर ग्यास उद्योगलाई निगमले मासिक तीन सय ६० टन कोटा तोकेको छ । तीन सय ६० टन कोटा भनेको मासिक रुपमा २५ हजार ओटा सिलिन्डर हुन्छ । त्यसो हुँदा १० हजार उद्योगमा १० हजार बजारमा र ५ हजार डिपोमा सिलिन्डर जम्मा भएर बसेका हुन्छन् ।
यसरी हेर्दा हाल बजारमा १० हजार थान सिलिन्डर हुन सक्ने भन्दै निगमले उक्त सिलिन्डरमा ग्यास भर्ने व्यवस्था मिलाउन अन्य उद्योगलाई निर्देशन दिएको बताएको छ ।
निमगका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले सुपरका बजारमा रहेका सिलिन्डरमा ग्यास भर्न अन्य उद्योगलाई निर्देशन दिएको बताए । ‘उद्योगमा आगलागी भए पनि उपभोक्ताले ग्यास प्रयोग गर्न पाउनुपर्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘उपभोक्तालाई असर नपार्न र सुपरका सिलिन्डरमा ग्यास भर्न उद्योगीलाई निर्देशन भएको छ । सोही अनुसार काम हुन्छ ।’