डेढ अर्ब लगानीमा गोल्डस्टार जुत्ताको नयाँ उद्योग

उद्योग स्थापना भएपछि ३ हजारलाई रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ । स्वदेशी उत्पादनमा अग्रणी बन्दै आएको कम्पनीले अहिले पनि ८० प्रतिशत उत्पादन विदेश निर्यात गरिरहेको छ ।

आफ्नो उत्पादनको ८० प्रतिशत निर्यात गर्दै आइरहेको गोल्डस्टार जुत्ताले डेढ अर्ब लगानीमा नयाँ उद्योग स्थापना गर्दैछ । किरण सुज म्यानुफ्याक्चरले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) भित्र डेढ अर्ब लगानीमा नयाँ उद्योग सुरु गर्न लागेको हो ।

१२ हजार १ सय ७२ स्क्वायर मिटर क्षेत्रफलमा कम्पनीले वार्षिक १ करोड २५ लाख जोर जुत्ता उत्पादन गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । कम्पनीले आफ्नो योजनासहित विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणमा स्वीकृति माग गरेपछि प्राधिकरणले पूर्वाधार स्वीकृति दिएको हो । उद्योग सञ्चालनका लागि कम्पनीले चौबीसै घण्टा डेढ मेगावाट विद्युत माग गरेकोमा सेजले १२ देखि १५ घण्टासम्म दिन सकिने जनाएको छ ।
सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले सेजभित्र नयाँ उद्योग स्थापनाका लागि गोल्डस्टारले स्वीकृति मागेको बताए । ‘लगानी र पूर्वाधारको योजनासहित कम्पनीले स्वीकृति मागेकोमा प्राधिकरणले स्वीकृति दिएको छ,’ उनले भने ।

कम्पनीले १८ करोड मेसिनरी औजारका लागि र ८७ करोड ५० लाख कच्चापदार्थका लागि बजेट छुट्टाएको छ । पूर्वाधार निर्माण गरिसक्दा डेढ अर्ब लगानी हुने कम्पनीले जनाएको छ । किरण सुज म्यानुफ्याक्चरका प्रबन्ध निर्देशक अमिर राणाले भैरहवामा नयाँ उद्योग स्थापना हुन लागेको बताए । सेजबाट हामीले स्वीकृति लिइसकेका छौं, अब बिजुलीको काम सकेर पूर्वाधार निर्माणमा जान्छौं, उनले भने । १० महिनादेखि १ वर्षभित्रमा उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘हामीले भैरहवाबाट उत्पादन गर्ने जुत्ताको ९० प्रतिशत निर्यात गर्छाैं,’ उनले भने । मुलुकको राजनीति स्थिरतातर्फ उन्मुख भैरहेको छ, मजदुर आन्दोलन नभएको र विद्युतको समस्या पनि नभएपछि नयाँ उद्योग खोलिएको उनले बताए ।

उद्योग स्थापना भएपछि ३ हजारलाई रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ । स्वदेशी उत्पादनमा अग्रणी बन्दै आएको कम्पनीले अहिलेपनि ८० प्रतिशत उत्पादन विदेश निर्यात गरिरहेको छ । भारतमा समेत उद्योग स्थापना गरेर उत्पादन हुने गोल्डस्टार जुत्ता भारतसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानलगायत खाडी मुलुकमा निर्यात भइरहेको छ । कम्पनीले नयाँ उद्योग स्थापनापछि आप्mना उत्पादन अफ्रिकामा पुराउने रणनीतिमा छ । कम्पनीले निर्यात व्यापारबाट सरकारलाई धेरै कर तिर्दै आएको छ ।

कम्पनीले पछिल्लो पटक ७ डिजाइन र ३५ रङ्गमा विभिन्न साइजका जुत्ताहरु बजारमा उपलब्ध गराउँदै आइरहेको छ । युवापुस्तालाई लक्षित गरेर गोल्डस्टारले स्पोटर््स सेग्गमेन्टमा आकर्षक बजार विस्तार गरिरहेको छ । काठमाडौंस्थित उद्योगको दैनिक उत्पादन क्षमता ५० हजार जोर जुत्ता रहेको कम्पनीले जनाएको छ । युनिभर्सल ग्रुपअन्तर्गतको कम्पनीले सन् १९९० देखि गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल उत्पादन गर्दछ । सस्तो मूल्यमा बलियो र टिकाऊ रहेका गोल्डस्टार नेपालका जुत्ता सबै वर्गको रोजाईमा पर्छन् ।