दुई वर्षको अवधिमा एक सय ७ ओटा मात्रै तुइन विस्थापित गरिएको स्थानीय पुल शाखाका प्रमुख माधव भट्टले जानकारी दिए ।
गत २०७२ मा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइन मुक्त गर्ने घोषणा गरेपनि त्यो लक्ष्य विफल भएको छ । त्यतिबेला मुलुकभर एक सय ४७ तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्नुपर्ने देखिएको थियो । दुई वर्षको अवधिमा एक सय ७ ओटा मात्रै तुइन विस्थापित गरिएको स्थानीय पुल शाखाका प्रमुख माधव भट्टले जानकारी दिए । उनले सरकारी लक्ष्य अनुसार नै काम भएपनि मुलुकका सवै तुइन विस्थापित गर्न दुई वर्षको अवधि निकै छोटो रहेको बताए । मुलुकभर १ सय ८६ तुइन पहिचान भएपनि ४६ तुइन विस्थापित गर्न नसकिने डिभिजन कार्यालयले जनाएको छ ।
तुइन विस्थापित गर्नुपर्नेमध्ये १ सय ४६ ओटा पुलहरु निर्माण भइरहेको सस्पेन्सन बृज डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिए । गत आर्थिक वर्षभित्र एक सय ७ ओटा तुइन विस्थापित गरी झोलुङे पुल निर्माण भइसकेको उनले बताए । बाँकी रहेकामध्ये २५ ओटा चालू आर्थिक वर्षभित्र बनाइसक्ने र बाँकी ५ ओटा झोलुङ्गे पुल भारत सरकारसँग समन्वयन गर्नुपर्ने भएकाले तत्काल निर्माण गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘गत आर्थिक वर्षको मसान्तसम्म एक सय ७ ओटा तुइन हटाइएको छ, बाँकी २५ ओटा चालू आर्थिक वर्षमा बनाइसक्ने लक्ष्य लिएका छौ,’ उनले भने, ‘५ ओटा महाकाली नदीमा बनाउन भारतीय सरकारको स्वीकृत लिनुपर्दा समस्या देखिएको छ ।’ अहिले नेपाल र भारत सीमाना महाकाली नदीमा आधा दर्जन क्षेत्रमा तुइनकै भर पर्नुपर्ने अवस्था छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाका सबै जसो वडा भारतसँग जोडिएका छन् ।
महाकाली नदीले सीमा छुट्याएको सीमावर्ती बजार जान तुइनकै सहारा लिनुपर्छ । त्यस क्षेत्रमा आधादर्जन जति वडाहरुमा तुइनकै भरमा सदरमुकाम जानुपर्नेे बाध्यता छ । महाकाली नदीमा अहिले एउटा मात्र झोलुङ्गे पुल सञ्चालनमा छ । तीबाहेक सुर्खेत, दैलेख, तनहुँ र गोरखा लगायतका केही क्षेत्रमा अझै तुइनकै भरमा नदी वारपार गर्नुपर्ने अवस्था छ ।