सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलामा रहेको अमर सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न ६० लाख रूपैयाँको लागतमा तटबन्ध निर्माण गरेको छ । सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो ।
‘खोलाले गर्दै आएको भूक्षय रोक्नका लागि तटबन्ध निर्माण गरेका छौँ,’ सामुदायिक वनका अध्यक्ष मोहनबहादुर चन्दले भन्नुभयो, ‘जसबाट १५० बढी परिवार सुरक्षित भएका छन् ।’ वडा नं ९ र वडा नं ६ का बासिन्दाको जग्गा जोगाउनका लागि तटबन्ध निर्माण गरिएको छ ।
तीन सय १५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ४९५ उपभोक्ता आश्रित छन् । सामुदायिक वनले वन जोगाउनका लागि विसं २०६५ देखि खुला चरिचरन नियन्त्रण गरेको छ ।
पर्यटकलाई लोभ्याउनका लागि वन क्षेत्रमा वनभोजस्थलसमेत निर्माण गरिएको छ । दैनिक ५० देखि ३०० सम्म युवायुवती वनभोज मनाउनका लागि यहाँ पुग्ने गरेका छन् । रासस