केरुङ–काठमाडौं रेलमार्ग पूर्वसम्भाव्यता अध्ययनलाई अन्तिम रूप दिन नेपाली प्रतिनिधिमण्डल चीन जाँदै

आगामी भदौ ३ गते भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल टोली चीन जान लागेको हो ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनलाई अन्तिम रुप दिन नेपाली टोली चीन जाने भएको छ । आगामी भदौ ३ गते भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल टोली चीन जान लागेको हो ।

सरकारले केरुङ—काठमाडौं रेलमार्ग निर्माण चिनियाँ पक्षलाई दिने निर्णय गरेसँगै त्यसको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रिफिजिबिलिटी)लाई अन्तिम रुप दिन र चीनसँग रेलमार्ग निर्माणमा कूटनीतिक वार्ता र छलफलका लागि चीन जान लागिएको मन्त्रालयका सचिव अधिकारीले क्यापिटल नेपाललाई जानकारी दिए । ‘चीनको नाका केरुङदेखि काठमाडौंसम्मको प्रारम्भिक सम्भाव्यता रिपोर्ट आइसकेकाले त्यसलाई फाइनलाइज गर्न रेलमार्ग निर्माण गर्ने र सहयोग जुटाउनु भ्रमणको मुख्य उद्देश्य हो’ उनले भने, ‘उक्त रेलमार्ग चीनले नै अनुदानमा बनाइदियोस् भन्ने हाम्रो चाहना छ ।’

चिनियाँ क्रस सर्र्भे डिपार्टमेन्ट कम्पनीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन यसअगाडि नै बुझाइएसकेको थियो । उक्त अध्ययन प्रतिवेदनलाई भ्रमणका क्रममा फाइनलाइज गर्ने र रेलमार्ग निर्माणमा सहयोग जुटाउनका लागि नेपालले आग्रह गर्नेछ । चीनको केरुङ नाका हुँदै काठमाडौंसम्म रेलमार्ग जोड्ने सरकारी योजना छ । झन्डै एक सय किलोमिटर रहेको उक्त रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट चिनियाँ पक्षले बुझाइसकेको थियो ।

भ्रमण भदौ ३ देखि ६ गतेसम्म हुने छ । भ्रमणका अवसरमा चिनियाँ निजी लगानीकर्ता, उद्योगीहरुसँग पनि छलफल हुने जनाइएको छ ।