रेमिट्यान्स भुक्तानीमा अङ्कुश, अग्रिम पैसा लिएर मात्रै भुक्तानी दिन निर्देशन

केन्द्रीय बैङ्कले बिहीबार रेमिट्यान्स कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरुले लाभार्थी (बेनेफिसियरी)लाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएर मात्रै लाभार्थीलाई रकम दिन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले विप्रेषण (रेमिट्यान्स) भुक्तानीमा थप कडाइ गरेको छ । केन्द्रीय बैङ्कले बिहीबार रेमिट्यान्स कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरुले लाभार्थी (बेनेफिसियरी)लाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएर मात्रै लाभार्थीलाई रकम दिन निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कले अग्रिम रुपमा रकम भुक्तानी प्राप्त नभएको अवस्थामा लाभार्थीलाई रेमिट्यान्स भुक्तानी गर्नुअघि विदेशी बैङ्कको बैङ्क ग्यारेन्टी लिन निर्देशन दिएको छ । केन्द्रीय बैङ्कको यो निर्णयले रेमिट्यान्स भुक्तानी पाउन थप केही दिन कुर्नुपर्ने स्थिति सिर्जना भएको छ । विप्रेषण कम्पनी वा बैङ्क तथा वित्तीय संस्थाले रकम प्राप्त नभएको भनेर ग्राहकलाई अल्मल्याउन केन्द्रीय बैङ्कको निर्देशनले बाटो खोलेको छ ।

राष्ट्र बैङ्कले निर्देशनमा बैङ्क ग्यारेन्टीका आधारमा भुक्तानी गर्दा बैङ्क ग्यारेन्टीको रकमले खामेको सीमासम्म मात्र भुक्तानी दिन भनेको छ । राष्ट्र बैङ्कले विदेशी विनियम नियमित गर्ने ऐन २०१९ (संशोधित)अनुसार एकीकृत निर्देशन २०७४ मा नयाँ व्यवस्था थप गरी यस्तो निर्देशन दिएको हो ।