एक वर्षभित्र विद्युत् निर्यात गर्न सक्ने बन्छौं : कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले हरेक संस्थामा सुशासन, पारदर्शिता र कार्यशैलीमा सुधारको अपेक्षा गरेको बताएका छन् । जुनसुकै संस्थाले पनि आफूलाई नीतिगत, कार्यशैली र गुणस्तर सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक वर्षभित्र विद्युत् निर्यात गर्ने वातावरण बन्ने बताएका छन् । प्राधिकरणको ३३औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित कार्यक्रममा उनले मुलुक लोडसेडिङमुक्त भइसकेको, माथिल्लो तामाकोसी तथा केही आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले एक वर्षभित्र ती राष्ट्रिय प्रणालीमा जोडिने बताए ।

यससँगै भारतबाट आयातित विद्युत् कटौती हुने र नेपालबाट विद्युत् निर्यातको वातावरण बन्ने उनको भनाइ छ । बिहीबार मात्रै ढल्कबेर सबस्टेसन २२० केभी लाइनमा चार्ज भएकाले यहाँको माग र बढी भएको विद्युत् निर्यात गर्न भारत र नेपालबीच विद्युत् आदानप्रदानसम्बन्धी इनर्जी बैङ्किङ सिस्टम विकास सुरु भइसकेको उनले जानकारी दिए ।

५/७ महिनाभित्र ढल्केबर सबस्टेसन ४ सय केभी क्षमतामा चार्ज गर्न स्तरोन्नतिको काम अगाडी बढाइएको उनले बताए । उनले आगामी एक वर्षभित्र ६ सय मेगावाट राष्ट्रिय प्रणालीमा थपिने र अर्को वर्ष थप १२ सय मेगावाटका आयोजना सञ्चालनमा आउने उनको भनाइ छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले हरेक संस्थामा सुशासन, पारदर्शिता र कार्यशैलीमा सुधारको अपेक्षा गरेको बताएका छन् । जुनसुकै संस्थाले पनि आफूलाई नीतिगत, कार्यशैली र गुणस्तर सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । प्राधिकरण र यसका सहायक कम्पनीहरुले आफ्नो कार्यशैली, प्रणाली र जिम्मेवारीमा थप सुधार गर्दै समृद्ध समाज निर्माणतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

विद्युत् नियमन आयोगमार्फत प्राधिकरणलाई प्रतिस्पर्धी बनाउँदै लगिने उनले बताए । साथै हरेक पूर्वाधार तथा जलविद्युत् आयोजना निर्माणका क्रममा आयोजना प्रभावित बासिन्दा र त्यतिखेरको पुस्तालाई ध्यानमा राखेर काम गर्नुपर्ने उनले बताए । ‘हामीले जति पनि आयोजना निर्माण गर्छौं’, उनले भने, ‘त्यसमा त्यतिखेरको पुस्ताले अपनत्वबोध गर्नुपर्छ । सँगै प्रभावित जनताको हितमा पनि हामीले काम गर्नुपर्छ ।’

पाँच वर्षभित्र ३ हजारभन्दा बढी मेगावाटका जलविद्युत् परियोजना बन्ने र जलविद्युत्मा हरेक नेपालीको सेयर पु¥याउने उनको प्रतिबद्धता छ । ‘आगामी पाँच वर्षमा तीन हजारभन्दा बढी मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आउने अपेक्षा छौं । त्यसका लागि ५६ लाख घरधुरीका बासिन्दामा विद्युत् सेयर पु¥याउने सरकारको लक्ष्य छ ।’

वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कर्मचारी, आयोजना कम्पनी प्रमुख, प्रवद्र्धकलाई समेत सम्मान गरिएको थियो ।