
चर्को मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा मध्यरातमा छापा मारेको छ । तरकारी उत्पादन गर्ने किसानलाई न्यून मूल्य दिएर उपभोक्तालाई धेरै मूल्यमा तरकारी बेच्ने गरेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गरेको हो ।
सोमबार विहान ३ बजेनै अनुगमन टोली कालिमाटी पुगेको थियो । अनुगमनको क्रममा बिलबिजक नखुलाई तरकारी ल्याएको, कहाँबाट कसले ल्याएको हो लगायतका विषय नखुलेपछि दुई ट्रक नियन्त्रणमा लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले बताए ।.अनुगमन टोलीले ना ४ च ६६३४ नम्बरको ट्रकका चालक सन्दिप दराईलाई नियन्त्रणमा लिएको छ । बा ६च ६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ फरार छन् । पक्राउ गरेको बिरोध गर्दै अनुगमनमा अबरोध गरेका छन् । अनुगमनमा मन्त्रालय, विभागसहित उपभोक्ता अधिकारकर्मीको टोली पुगेको थियो । विभिन्न जिल्लाबाट आउने तरकारीमा विचौलियाले अत्याधिक मूल्य लिएर बेच्ने गरेका छन् । विचौलियाको कारण बजारमा तरकारीको भाउ निकै महंगो छ । कालिमाटीबाट उपत्यकाका विभिन्न बजारमा तरकारी जाने गरेको छ ।