
सामसुङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, कुलप्याड, सीजीलगायतका स्मार्टफोन कम्पनी नेपालमा मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।
नेपालमा मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन् । सँगै यसको आयात पनि तीव्र रुपमा बढेको छ । गाउँगाउँमा पनि स्मार्टफोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्यै छ । महँगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयातदर उकालो लागिरहेको छ ।
गत आर्थिक वर्षमा मात्रै करिब २४ अर्ब ८७ बराबरको मोबाइल तथा अन्य मोबाइल पार्टपुर्जा नेपाली बजारमा भित्रिएको तथ्याङ्क विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएको थियो ।
अघिल्लो आवको तुलनामा गतवर्ष २ अर्ब २१ करोडभन्दा बढी मूल्यको मोबाइल आयात भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ५९ लाख ५५ हजार वटा मोबाइल सेट आयात भएकोमा गत वर्ष यो संख्या ६२ लाख २३ हजारमा पुगेको छ ।
सबैभन्दा बढी फोन चीनबाट नेपाली बजारमा आएका छन् । विभागको तथ्याङ्कअनुसार ५४ लाख १३ हजार वटा सेट चीनबाट भित्रिएका छन्, जुन १९ अर्ब ७२ करोड मूल्यबराबरको हो । पछिल्लो समय नेपालमा भियतनामबाट पनि अत्यधिक मात्रमा मोबाइल फोन आयात हुने क्रम बढेको भन्सार विभागका सूचना अधिकृत शिव भण्डारीले जानकारी दिए ।
गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै ४ अर्ब ७२ करोड मूल्यबराबरको ५ लाख १० हजार मोबइल सेट नेपाल आएको सूचना अधिकृत भण्डारीको भनाइ छ । त्यस्तै मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पर्छ । । एक वर्षभित्र भारतबाट ३८ करोड ८६ लाख बराबरका २ लाख ९५ हजार वटा मोबाइल सेट नेपाल आएका छन् । त्यसबाहेक नेपालले अमेरिका, कोरियालगायतका मुलुकबाट पनि सानै सङ्ख्यामा भए पनि मोबाइल सेट भित्रिएका छन् ।
नेपालमा पछिल्लो समयमा मिड रेन्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ । मध्यम वर्गीय मात्रै नभएर गरिब परिवारका सदस्य पनि मिड रेन्जका स्मार्टफोन बोक्न लालायित छन् । १० हजारभन्दा महँगा र २५÷३० हजारसम्म मूल्य भएका मोबाइलको बजार फैलँदो छ ।
नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँनयाँ ब्रान्ड भित्रिइरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन ।
सामसुङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, कुलप्याड, सीजीलगायतका स्मार्टफोन कम्पनी नेपालमा मुख्य प्रतिस्पर्धीका रुपमा छन् । विशेषगरी इन्टरनेटको पहुँच सरल बन्दै जाँदा स्मार्टफोनमा युवा पुस्ता मात्रै नभएर प्रौढ पुस्ता पनि आकर्षित छन् । त्यसैकारण पनि आयात र बिक्री बर्सेनि उँभो लाग्दै छ ।