फेसबुकलाई डाटा बेचेर स्टडी एपमार्फत कमाउनुहोस् पैसा

एक पटक यो एप डाउनलोड भइसकेपछि यसले फेसबुकलाई प्रयोगकर्तासँग कुन कुन अन्य एप छन्, उनीहरुले ती एपका कुन फिचरमा कति समय खर्च गर्छन् भन्ने डाटा प्रेषण गर्छ ।

एजेन्सी । अब इन्टरनेट प्रयोगकर्ताहरुले फेसबुकबाट पैसा कमाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुबाट डाटा खरिद गर्ने उद्देश्यका साथ फेसबुकले ‘स्टडी’ नामको नयाँ एप ल्याएको छ । फेसबुकले बजार अध्ययन गर्नका लागि उक्त एप ल्याएको हो ।

प्रयोगकर्ताले आफूले फेसबुककै अन्य प्रतिस्पर्धी एपहरुको कुन फिचर कति समयसम्म सर्वाधिक प्रयोग गरे भन्ने तथ्याङ्क उक्त स्टडी एपबाट पठाउन सक्नेछन् । फेसबुकले गुगल प्ले स्टोरबाट उक्त एप डाउनलोड गराउँदै प्रयोगकर्तालाई उसको यो अध्ययन अभियानमा संलग्न गराइरहेको घोषण गरेको छ ।

एक पटक यो एप डाउनलोड भइसकेपछि यसले फेसबुकलाई प्रयोगकर्तासँग कुन कुन अन्य एप छन्, उनीहरुले ती एपका कुन फिचरमा कति समय खर्च गर्छन् भन्ने डाटा प्रेषण गर्छ ।

पछिल्लो समय प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षालाई लिएर गम्भीर बन्दै गएको फेसबुकले त्यस्ता डाटा तेस्रो पक्षलाई बिक्री नगर्ने र विज्ञापन देखाउने प्रयोजन कम्पनीको नरहेको बताएको छ ।

फेसबुकले उक्त स्टडी एपलाई डाउनलोड गरेबापत प्रयोगकर्ताले कति पैसा कमाउन सक्छन् भन्ने विषयमा स्पष्ट पारेको छैन । यसअघि पनि फेसबुकले यस्तै किसिमको फेसबुक रिसर्च एप तथ्याङ्क सङ्कलनका लागि ल्याएको थियो, जसमा उसले १३ वर्षदेखि ३५ वर्षबीचका प्रयोगकर्तालाई उनीहरुले प्रयोग गरिरहेका अन्य प्लेटफर्म ट्रयाक गर्न दिएकोमा मासिक २० डलरसम्म उपलब्ध गराउँदै आएको थियो ।

फेसबुकले भने कम्पनीको मार्केटिङ अनुसन्धानलाई जिम्मेवार तरिकाले गर्न लागेको बताउँदै, बजार अनुसन्धानमा समावेश हुने मानिसहरुको धारणामा पनि परिवर्तन आएको बताएको छ । गोपनीयताका विज्ञहरुले भने इन्सेन्टिभ प्रदान गरी डाटा बिक्री गर्नाले अनुमतिको विषयलाई जटिल बनाएको बताएका छन् ।

यस एपमा समावेश हुनका लागि प्रयोगकर्ताको उमेर १८ वर्ष माथि हुनुपर्नेछ । फेसबुकबाट कमाएको यो पैसा पाउन प्रयोगकर्ताले पेपल खाता खोल्नु पर्नेछ ।