ग्राउन्ड स्टेसन जुलाई १७ भित्र सम्पन्न हुने, सामग्री खरिद प्रक्रिया सम्पन्न

नेपालको पहिलो नानो भू–उपग्रह ‘नेपाल स्याट–वान’लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट निकालेर असार २ गते पृथ्वीको कक्षमा छोडिदैँछ ।

काठमाडौं । नेपालको पहिलो ग्राउन्ड स्टेसनको निर्माण कार्य जुलाई १७ भित्र सम्पन्न भइसक्ने नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले बताएको छ ।

नेपालको पहिलो नानो भू–उपग्रह ‘नेपाल स्याट–वान’लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट निकालेर असार २ गते पृथ्वीको कक्षमा छोडिदैँछ । उक्त भू–उपग्रहले पठाएको सूचनालाई पृथ्वीमा प्राप्त गर्ने ग्राउन्ड स्टेसनको निर्माण कार्य आगामी जुलाई १७ भित्र सम्पन्न भइसक्ने नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले बताए ।

ग्राउन्ड स्टेसन निर्माण सम्बन्धमा प्रशिक्षण लिन जापान गएका इन्जिनियर रोशन पाण्डे फर्किसकेको तथा विभिन्न मुलुकहरुसँग उपकरण खरिद प्रक्रिया सम्पन्न भएर सामग्रीहरु भित्रिसकेको र एसेम्बलिङमा गइरहेको उपकुलपति श्रेष्ठले क्यापिटल नेपाललाई बताए ।

‘ग्राउन्ड स्टेसनका लािग सामग्री खरिद प्रक्रिया पूरा भएको छ । सामग्रीहरु एसेम्बलिङमा जादैँछन्,’ उपकुलपति श्रेष्ठले भने, ‘हामीले निर्माण कार्य यही जुलाई १७ भित्र सक्ने गरी काम थालिसकेका छौं ।’

उक्त ग्राउन्ड स्टेसन निर्माण गर्न करिब २० लाख रुपैयाँ लाग्ने नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले बताए ।

वैशाख ५ गते श्रीलङ्का र बङ्गलादेशका दुई भू–उपग्रहसँगै भर्जिनियाबाट प्रक्षेपण गरिएको नेपाली स्याट वानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो । उक्त केन्द्रबाट असार २ गते पृथ्वी कक्षमा छोडिने सो भू–उपग्रहले पृथ्वीको भौगोलिक संरचना र मौसमबारे तस्बिर खिचेर इन्क्रिप्टेड सिग्नलका रुपमा पृथ्वीमा पठाउँछ । सो इन्क्रिप्टेड सिग्नललाई सफ्टवेयरको माध्यमबाट नास्टले डिकोड गरी प्रयोग वा सार्वजनिक गर्नेछ ।

नेपाली ग्राउन्ड स्टेसनले काम गर्न नसकेको खण्डमा भू–उपग्रहले दिने सूचनालाई जापान, बङ्गलादेश वा श्रीलङ्काबाट प्राप्त गर्न सकिने किसिमको सञ्जाल भएको प्रवक्ता ढुङ्गेलले बताए ।

असार २ गते दिनको साढे दुई बजे पृथ्वी कक्षमा उक्त भू–उपग्रह छोडिँदाको ऐतिहासिक अवसरमा सबैको पहुँच पुर्याउन नास्टले पब्लिक भ्युको आयोजना गर्ने बताएको छ । उक्त कार्यक्रममा जापानी राजदूतावासबाट राजदूत, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव तथा उच्च पदाधिकारी सहभागी हुनेछन् । कार्यक्रममा सर्वसाधारण पनि जानसक्ने नास्टले बताएको छ ।

नेपाल स्याट वानसँगै गएका अन्य दुई भू–उपग्रहको सोही दिन पृथ्वी कक्षमा प्रक्षेपण हुँदैछ, जसको प्रत्यक्ष प्रसारण जापानको जाक्सा भन्ने अन्तर्राष्ट्रिय संस्थाबाट हुँदैछ । उक्त प्रत्यक्ष प्रसारण कार्यक्रममा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नास्टका उपकुलपति श्रेष्ठ जापान जाने कार्यक्रम छ ।

अन्तरिक्षमा प्रक्षेपण गरिएको भू-उपग्रहले पृथ्वीमा पठाएको सूचनालाई प्राप्त गर्ने स्टेसन हो ग्राउन्ड स्टेसन । छाता जस्तो स्वरुपमा रहने उक्त उपकरणले पृथ्वी कक्षमा छोडिएको भू-उपग्रहको गति र दिशालाई ट्रयाक गर्दै फाल्ने सूचना तथा तस्बिरहरुलाई इन्क्रिप्टेड स्वरुपमा लिने गर्दछ । वास्तवमा ग्राउन्ड स्टेसनले एन्टेनाको जस्तै काम गर्छ र यसबाट प्राप्त इन्क्रिप्टेड सूचना तथा तस्बिरलाई सफ्टवेयरको माध्यमबाट डिकोड गरी सार्वजनिक प्रयोगमा ल्याइन्छ ।