व्यावसायिक रणनीतिमा नेपाल टेलिकम, भर्टिकल बिजनेसबाट आम्दानी बढाउने

विश्वमा पनि यही ट्रेन्ड चलिरहेकाले टेलिकम पनि यसतर्फ सिफ्ट हुन खोजेको उनको भनाइ छ । ‘नेपालमा मात्र होइन, विश्वभरि नै अहिले डेटा प्लस कन्टेन्ट बिजनेस अर्थात् भिडियो, गेम अथवा इन्टरप्राइजेज बिनेस, ठुल्ठूला संस्थाहरुले प्रयोग गर्ने एप्स, इन्टरप्राइजहरुलाई कम्प्लिट सोल्युसन दिएर त्यताबाट आम्दानी आर्जन गर्ने रणनीतिमा सिफ्ट हुँदैछ,’ उनले भनिन्, ‘हामीले पनि यो सुरु गरिसकेको छौं ।’

काठमाडौं । विश्वभरि नै टेलिकमको आम्दानी खुम्चिरहेका बेला नेपाल टेलिकमले व्यवसाय बढाउन नयाँ रणनीति ल्याउने भएको छ । नीतिगत र प्राविधिक व्यवधानबाट खुम्चिएको आफ्नो आयस्रोत बढाउन टेलिकमले भर्टिकल बिजनेस इन्डस्ट्रिजमा अर्थात् डेटा प्लस कन्टेन्ट बिजनेसमा सिफ्ट हुने रणनीति लिएको प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

विश्वमा पनि यही ट्रेन्ड चलिरहेकाले टेलिकम पनि यसतर्फ सिफ्ट हुन खोजेको उनको भनाइ छ । ‘नेपालमा मात्र होइन, विश्वभरि नै अहिले डेटा प्लस कन्टेन्ट बिजनेस अर्थात् भिडियो, गेम अथवा इन्टरप्राइजेज बिजनेस, ठुल्ठूला संस्थाहरुले प्रयोग गर्ने एप्स, इन्टरप्राइजहरुलाई कम्प्लिट सोल्युसन दिएर त्यताबाट आम्दानी आर्जन गर्ने रणनीतिमा सिफ्ट हुँदैछ,’ उनले भनिन्, ‘हामीले पनि यो सुरु गरिसकेको छौं ।’

उनले कहिलेकाँही सीधा इन्टरनेसनल लिजहरुको सेवा दिने गरेको बताइन् । ‘टेलिकमको बिजनेस मात्र होइन टेलिकम र सङ्गीत, टेलिकम र टेलिभिजन, टेलिकम र हेल्थजस्ता फरक सेक्टरसँग साझेदारी गरेर भर्टिकल बिजनेस सुचारु गरेका छौं,’ प्रवक्ता वैद्यले भनिन् । उनले खुम्चिएको आम्दानीलाई डेटाको बृहत प्रयोगले पूर्ति गर्ने बताइन् । फोरजी सेवाको विस्तारसँगै यो सम्भव हुने उनको भनाइ छ ।

विस्तारै टेलिकमको आम्दानी खुम्चिँदै गएको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफामा करिब २ अर्ब रुपैयाँले कमी आएको कम्पनीको चालू आर्थिक वर्षको अपरिस्कृत आर्थिक विवरणले देखाएको छ । अन्तर्राष्ट्रिय भ्वाइस कल मुख्य आर्थिक स्रोत रहने विश्वभरिका टेलिकमको अहिले यही दशा छ ।

डेटामा आधरित भ्वाइस कल यसको प्रमुख कारण रहेको प्रवक्ता वैद्यले स्पष्ट पारिन् । वैदेशिक रोजगारीमा बिदेसिनेको सङ्ख्या घट्नुका साथै ओटीटी अर्थात् ओभर द टप सेवा ब्लक गर्ने कतार, साउदी जस्ता मुलुकहरुले पनि यस्तो सेवा खुला गरेपछि ओटीटी बढेर टेलिकमको प्रमुख आय स्रोत खुम्चिएको हो ।

‘टेलिकम व्यवसायको नाफा घट्ने क्रम अहिले विश्वभरि नै छ, यसको कारण नै सेवाग्राहीले डेटामा आधारित सेवा प्रयोग गर्नु हो,’ उनले भनिन् । यसबाहेक भ्वाइस तथा इन्टरनेट सेवामा सरकारले वृद्धि गरेको १३ प्रतिशत कर, पाँच प्रतिशत वृद्धि भएको कर्पोरेट कर, दूरसञ्चारमा प्रविधिको तीव्र विकास पनि कारण रहेको उनले जानकारी दिइन् । उनले ओटीटीलाई नियमन गर्नका लागि नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलेदेखि लबिङ गरेको पनि बताइन् ।

‘भाइबर, इमो, ह्वाट्सएप जस्ता ओटीटीले हाम्रो नेटवर्कमा नछिरी इन्टरनेटमार्फत मात्र गरेको भए ठिक छ, तर इन्टरनेटमा चढेर पनि हाम्रो मोबाइल पीएसटीएनमा पनि कल आउँछ, त्यो आउनु हुँदैन,’ उनले भनिन्, ‘हाम्रो नेटवर्कमा आउनेबित्तिकै हामीले त रोयल्टी, राजस्व, कर तिर्नुपर्छ, उनीहरुले त केही तिर्नु पर्दैन । यसरी कर नतिरी माथि चढेर हाम्रो पनि बिजनेस मज्जाले खाइरहेको छ । त्यो त नियमन हुनुपर्छ, नियन्त्रण हुनुपर्छ भनेर हामीले प्राधिकरणमा लबिङ गरेको हौं । त्यसमा प्राधिकरणले कमिटी गठन गरेर काम गरिरहेको छ ।’

प्रवक्ता वैद्यले तत्काल टेलिकम फोरजी र एफटीटीएचको परियोजनामा लागिरहेको बताइन् । फोरजीको काममा ७६ प्रतिशत सर्भे सम्पन्न भएको, उपकरण जडान भइरहेको, नेटवर्कका सामग्री आइरहेको र काम तीव्ररुपमा भइरहेको पनि उनले बताइन् ।