एयर इन्डियाको एकाधिकार तोड्ने भारतको पहिलो निजी एयरलाइन जेटको उदयदेखि अस्तसम्मको इतिहास

एक अर्ब अमेरिकी डलरको ऋणले थिचिएको जेट एयरवेजको बागडोर अहिले यसैका ऋणदाता समूहको हातमा छ । जसको नेतृत्व स्टेट बैङ्क अफ इन्डियाले गरेको छ । एयरलाइन्सको शासनसत्ता ऋणीहरुको हातमा सुम्पिएर गत २५ मार्चमा एयरवेजका अध्यक्ष नरेश गोयल र उनकी श्रीमती अनिताले बोर्डबाट राजीनामा दिँदैं कम्पनीको सङ्कट समाधानका लागि मार्ग प्रशस्त गरिदिएका छन् ।

१९९० को उतरार्धदेखि २००० को दशकसम्म भारतको निजी उड्डयन क्षेत्रमा प्रभावशाली रवाफ जमाएको जेट एयरलाइन अहिले आफ्नो अस्तित्व जोगाउन ठूलो सङ्घर्ष गरिरहेको छ । गत वर्ष मात्र आफ्नो रजत वर्ष अर्थात् २५ औं वर्षगाँठ मनाएको एयरलाइन अहिले विघटन हुने अवस्थामा छ । यसमाथि ४ मईमा भारत सरकारले जारी गरेको एउटा सूचनाले धराशायी एयरवेजलाई थप तनाव थपिदिएको छ । भारत सरकारको उक्त सूचनामा भनिएको छ– यदि जेटले नयाँ मालिक फेला पार्न नसकेमा उसका अन्तर्राष्ट्रिय उडान रुट अन्य एयरलाइनलाई बाँडिनेछ ।

धेरै ओटा एयरलाइनहरुले सिङ्गापुर, थाइल्यान्ड र मध्यपूर्वी मुलुकजस्ता अन्तर्राष्ट्रिय गन्तव्यमा जेटको उडान अधिकार आफूहरुलाई दिन आग्रह गर्दै आएका छन् । यसले जेटले हालै आह्वान गरेको सेयर खरिदको बोलपत्रमा इच्छुक बिडरहरुलाई बोलपत्र पेस गर्न सोच्नुपर्ने अवस्था सृजना गर्न सक्छ । किनभने बिडरहरुका लागि जेट एयरलाइनमाथिको एउटा मोह भनेको यसको आकर्षक उडान रुट र विमानस्थलमा भएका स्लट हुन् ।

मई ५ मा क्वाटर््ज इन्डियामा प्रकाशित एक समाचारअनुसार जेट एयरवेजका कर्मचारी र नियमित फ्लायर्सहरुले जेटलाई उद्धार गर्न चासो देखाएका छन् । जेटका फ्लायर्सहरुको एउटा टोलीले एयरलाइनका प्रमुख ऋणदाता एसबीआई बैङ्क र आईसीआईसीआई बैङ्कसँग सेयर खरिद गर्ने योजना प्रस्तुत गरेका छन् । यो योजनामा जेटका कर्मचारीले पनि उसको सेयर खरिद गर्ने चाहना व्यक्त गरेका छन् । यसअघि १९९४ मा अमेरिकाको युनाइटेड एयरलाइन्सलाई पनि उसकै कर्मचारीले खरिद गरेर टेकओभर गरेका थिए ।

बितेका केही समयमा जेटले आफ्ना हजारौं उडान रद्द गरेर घरेलु तथा अन्तरािष्ट्रय यात्रुलाई प्रभावित गरेको छ । तर, एयरवेजको पुनरावृत्ति हुने आशा भने अझै कायमै छ । एक अर्ब अमेरिकी डलरको ऋणले थिचिएको जेट एयरवेजको बागडोर अहिले यसैका ऋणदाता समूहको हातमा छ । जसको नेतृत्व स्टेट बैङ्क अफ इन्डियाले गरेको छ । एयरलाइन्सको शासनसत्ता ऋणीहरुको हातमा सुम्पिएर गत २५ मार्चमा एयरवेजका अध्यक्ष नरेश गोयल र उनकी श्रीमती अनिताले बोर्डबाट राजीनामा दिँदैं कम्पनीको सङ्कट समाधानका लागि मार्ग प्रशस्त गरिदिएका छन् । २३ हजार कर्मचारी रहेको यो एयरलाइनलाई भारत सरकार अझै बचाउन चाहन्छ ।

जेट एयरवेजका अध्यक्ष नरेश गोयललाई अन्य सेयरहोल्डरले निकाल्न चाहनुका पछाडिको मुख्य कारण भनेको उनी संस्थापक भए पनि उनले एयरवेजको अर्थतन्त्रलाई बेवास्ता गरी आफ्नो पहिचान जेट एयरवेजलाई भव्य र दयालु बनाउन चाहिरहे । उनले जेटमा रहेका कुनै पनि शीर्ष तहका उड्डयन कार्यकारीलाई जेटको मुद्दा सम्बोधन गर्ने ठाउँ दिएनन् । न सञ्चालन खर्च कटौतीका विषयमा, न त उच्च भाडादर कायम गर्ने कुरामा । कम्पनीको दैनिक क्रियाकलापमा गोयलले हस्तक्षेप गर्न थालेपछि आजित भएर शीर्ष कार्यकारीहरुले पनि एकाएक राजीनामा दिन थाले ।

एयरवेजको ठूलो सेयर साझेदार इतिहाद पनि गोयलको यही बानीबाट आजित थियो । त्यसैले अर्को ठूलो ऋणदाता एसबीआई बैङ्कले गोयलको यो बानी थाहा पाएर नयाँ सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई गोयलबाट बचाउन उसले गोयललाई नै कम्पनीबाट निस्कने आदेश दियो र गोयल बोर्डबाट निस्किए ।

गोयलको राजीनामापछि एसबीआई बैङ्कले जेट एयरवेजको सेयर खरिद गर्न बोलपत्र पनि आह्वान गरेको छ । बोलपत्र बुझाउने मिति आगामी १० मईमा समाप्त हुँदैछ । एयर इन्डियाको एकाधिकारलाई तोड्ने भारतको पहिलो सबैभन्दा पुरानो निजी एयरलाइन जेटका १२४ ओटा उडान छन् । जसमा भारतलाई लन्डन र टोरान्टोसँग जोड्ने लाभदायी रुट पनि छन् ।

गत महिना आफ्ना सबै उडान रद्द गरी बसेको जेट एयरलाइनले आफ्ना विमान भाडामा दिने कम्पनीले फिर्ता लिएर प्रतिस्पर्धी एयरवेजलाई सञ्चालनका लागि सुम्पिरहेको आफ्नै आँखाले देखिरहेको छ । र, अहिले ती एयरवेजले जेटले यसअघि उडान गर्दै आएका रुटमा उडान सुरु गरिसकेका छन् ।

वास्तवमा यो एउटा एकदमै दुर्लभ दृष्टान्त हो, जहाँ एउटा निजी एयरलाइन भएको थाहा पाउँदा पाउँदै पनि यसलाई बचाउन भारत सरकार भरमग्दुर प्रयास गरिरहेको छ । यसै प्रयासअन्तर्गत उसले राज्य सञ्चालित बैङ्कहरुलाई जेटको बेलआउट योजनाका लागि अगाडि जान आग्रह गरेको छ । सन् २०१९ भारतीय राजनीतिमा महत्त्वपूर्ण चुनावी वर्ष हो । जेट विस्थापन भएको खण्डमा यसले २३ हजार रोजगार सङ्कटमा पार्ने भएको हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको रोजगारी सृजना गर्ने यसअघिको चुनावी एजेन्डाले आफ्नो महत्त्वपूर्ण गाँसमा ढुङ्गा भेटिन सक्ने भएका कारण जेटको रक्षार्थ भारत सरकारले पनि प्रयास गरिरहेको छ ।

तर, एयरलाइनको तत्कालको यस्तो वित्तीय अस्तव्यस्ततामा बैङ्कलाई पनि लगानीकर्ता खोज्न निकै अप्ठ्यारो अवस्था आइपरेको छ ।
बितेका केही महिनायता कम्पनीका लागि मात्र नभएर जेट विमान चढ्ने यात्रुहरुले पनि ठूलै समस्या भोग्नु परिहरहेको छ । बक्यौता रकम भुक्तान नगरेका कारण गोयलको राजीनामाको समयसम्म उसका ४० भन्दा धेरै विमान ग्राउन्ड भइसकेका थिए । यसले गर्दा उडान रद्द हुने र हवाई भाडा पनि वृद्धि भएको छ । तर गोयलले राजीनामा दिएपछि एयरवेजलाई बैङ्कहरुले टेक ओभर गरेर लगानी गर्ने छाँटकाँट देखाइरहेका छन्, जसले सङ्कटग्रस्त एयरलाइन र यात्रुहरुमा पनि आशा पलाएको छ ।

जेट एयरवेजको यस्तो दुरावस्थाको कथा :

भारतले आफ्नो अर्थतन्त्रलाई खुकुलो बनाउँदै निजी लगानीका लागि ढोका उघारेको दुई वर्षपछि नरेश गोयलले १९९३ मा चार ओटा भाडाका बोइङ ७३७ विमानको उडानसँग जेट एयरवेजको स्थापना गरेका थिए । त्यस समय भारतमा प्राइभेट एयरवेजले भर्खरै सेवा दिन सुरु गरेका थिए । त्यसै समय जेट पूर्ण सेवाको एयरलाइन बन्न सफल भयो र भारतकै ठूलो अन्तर्राष्ट्रिय उडान गर्ने एयरवेज बन्न सफल भयो । वास्तवमा भन्ने हो भने जेटले भारतको सरकारी एयरलाइन एयर इन्डियालाई नराम्ररी धूलो चटाइदिएको थियो ।

तर, सन् २००० को दशकको मध्यमा जब स्पाइसजेट र इन्डिगोजस्ता बजेट एयरलाइन यो व्यवसायमा प्रवेश गरे, तब उड्डयन उद्योगमा उच्च प्रतिस्पर्धा सुरु भयो । आफूलाई ‘बजेट एयरवेज’ घोषित गर्दै स्पाइसजेट र इन्डिगोले कम भाडामा उडान सेवा दिँदै जेटलाई पनि उसको भाडा घटाउन बाध्य बनायो । ती दुवै एयरलाइनसँग प्रतिस्पर्धामा उत्रिने जेटले पूर्ण उडान सेवालाई निरन्तरता दिँदैं आफ्नो भाडा दर कम गर्यो ।

ती साना एयरलाइनको तुलनामा जेटको प्रमुख चुनौती के थियो भने उसको सञ्चालन खर्च निकै ठूलो थियो । यसबाहेक रुपैयाँ कमजोर हुने र इन्धन मूल्य बृद्धि हुने जस्ता माइक्रो इकोनोमिक परिवर्तनले एयरवेजलाई थप कमजोर बनायो । यिनै कारणले एयरवेजले बजारमा फाइदा निकाल्न सकेन । यसकारण २००८ देखि उसले ठूलो घाटा व्यहोर्न थाल्यो र टिकी रहनका लागि बैङ्कहरुबाट ऋण लिई नै रह्यो । । यो त्यही समय हो जब इन्डिगो एयरले जेटको बजार सेयरमा आफ्नो पकड बनाउन सुरु गर्यो ।

यसैक्रममा सन् २०१८ मा यसको अवस्था थप खराब बन्यो जब कच्चा तेलको मूल्य एकाएक ८० डलर पुग्यो र भारतीय रुपैयाँले अमेरिकी डलरको तुलनामा २० प्रतिशतसम्म मूल्य गुमायो । यी दुवै घटनाले एयरलाइनको व्यवसाय बिगार्न महत्त्वपूर्ण भूमिका खेल्यो ।

आर्थिक वर्ष २०१८ को पहिलो चौमासिकमा जेटको घाटा १,३२३ करोड भएको सार्वजनिक गर्यो । अघिल्लो आर्थिक वर्षको सोही चौमासिकमा एयरवेजले ५३.५० करोडको फाइदा आर्जन गरेको थियो । एयरवेजले आफ्नो अपरेसनल इफिसियन्सीमा काम गरिरहेको बताइरहेको थियो, तर अर्कोतिर उसको प्रत्येक चौमासिकपिच्छे घाटा थप व्यापक बन्दै गइरहेको थियो ।

यसैबीच गत अगस्टमा एयरवेजले आफ्ना कर्मचारीलाई खर्च कटौती उपायअन्तर्गत २५ प्रशिसतसम्म तलब घटाएर लिन आग्रह गर्यो । यसैबीच सेप्टेम्बरबाट एयरवेजले इकोनोमी क्लासको बुकिङमा निःशुल्क खाना अफर गर्न बन्द गर्यो र अक्टोबरमा एयरलाइनले इन्जिनियरिङ, सुरक्षा, सेल्स र इन फ्लाइट सर्भिस विभागका शीर्ष तहका कार्यकारीबाट करिब ३० जना कर्मचारीलाई कामबाट हटाएको खबर आएको थियो ।

२००३(२००४ सम्म जेट एयरवेजले डोमेस्टिक प्यासेन्जरको मार्केट सेयरमा ४४ प्रतिशत स्थान ओगटेको थियो भने २००७ मा त्यो २७.७ प्रतिशतमा पुग्यो र फेब्रुअरी २०१९ को आकडा हेर्दा त्यो झरेर दस प्रतिशतमा आएको छ, जसले उसलाई इन्डिगो ४३.४ प्रतिशत, स्पाइसजेट १३.७ प्रतिशत, एयर इन्डिया १२.८ प्रतिशतपछि चौथो स्थानमा पुर्याएको डीजीसीएको तथ्याङ्कले देखाएको छ ।

डिसेम्बर २०१८ मा जेटले बैङ्क लोन रिपेमेन्ट गर्न असफल रह्यो र सोही समयमा उसले भेन्डरलाई पेमेन्ट गर्ने र कर्मचारीलाई तलब दिने काममा पनि ढिलाइ गर्यो । यसैबीच गत मार्चमा उसले बैङ्कलाई ८,४१४ करोड रुपैयाँ ऋण भुक्तान गर्यो । बैङ्कहरु एयरवेजसँग समाधान उपायसम्बन्धी काम गरिरहँदा उसलाई विमान भाडामा दिने कम्पनीहरु भने पैसा नपाएको भन्दै विमान फिर्ता लिन थालेका छन् । मार्च अन्त्यसम्म आइपुग्दा जेटका ५० प्रतिशतभन्दा बढी उडान ग्राउन्डेड भइसकेका छन् । यति मात्र होइन बक्यौता तिर्न नसकेका कारण विमान भाडामा दिने कम्पनीले जेटबाट फिर्ता लिएर स्पाइशजेटलाइ दिन सुरु गरिसकेका छन् ।

फेब्रुअरीको अन्त्यसम्म आइपुग्दा जेटले तीन सयभन्दा धेरै उडान रद्द गर्यो र मार्चमा उसका थप फ्लाइट ग्राउन्डेड गरिए ।

जेट एयरवेजले आफ्नो औसत समयमा ६ सय डोमेस्टिक र ३८० ओटा अन्राष्ट्रिय रुटमा उडान भर्ने गर्दथ्यो । तर सङ्कट सुरु भएपछि उसले आबु धाबी, म्यान्चेस्टर र हङकङ जस्ता अन्तर्राष्ट्रिय गन्तव्यमा आफ्ना सयौं उडान रद्द गर्यो ।

जेट एयरवेजको भविष्य अझै पनि अस्पष्ट नै छ भने अर्को वास्तविकता भारतमा एयरलाइनको व्यवसाय अत्यन्तै कठिन छ । तीव्र प्रतिस्पर्धाका कारण आधारभूत हवाई भाडा दुई अमेरिकी सेन्टभन्दा तल जस्तै छ । यसकै नतिजास्वरुप बैङ्कको ऋण, कर्मचारीलाई तलब, विमान लेसर र विमानस्थललाई भाडा तिर्न नसक्दा बियर व्यापारी टाइकुन विजय माल्याको किङफिसर एयरलाइन पनि २०१२ मा विस्थापन भयो । स्पाइस जेटको अवस्था पनि त्यही थियो । करिब दुई वर्षअघि विगठनको अवस्थामा पुगिसकेको स्पाइस जेटलाई पनि उसका संस्थापकले नियन्त्रणमा लिएर बचाएका हुन् । राज्य सञ्चालित एयर इन्डिया पनि अर्बौं डलरको बेलआउट गरी बचाउन सफल भएको हो । यसबाहेक सिङ्गापुर एयरलाइन र एयर एसिया बीएचडीले पनि स्थानीय भेन्चर सेट गरे । तर, ती पनि सञ्चालन खर्चको घाँटी अँठ्याएर घाटा खाने एयरलाइन नै हुन् ।

भारतका अधिकांश डोमेस्टिक एयरलाइनले लागू गर्दै आएको लो कस्ट मोडल नै वास्तवमा उड्डयन क्षेत्रमा सञ्चालन खर्च बढाउने एउटा ठूलो कारक हो । र, जेट एयरवेज यही मोडलको घाइते खेलाडी हो जसले फुल सर्भिस दिदाँ दिँदैं पनि बजेट एयरलाइन इन्डिगो र स्पाइसजेटको यो रणनीतिलाई अबलम्बन गर्ने प्रयास गर्यो ।

यात्रुलाई आकर्षित गर्न टिकटमा भारी छुट दिने रणनीतिले भारतीय उड्डयन क्षेत्रलाई धराशायी बनाइरहेको विज्ञहरु बताउँछन् । अधिकांश विज्ञ तथा एयरलाइन कार्यकारीले यो लो कस्ट मोडलको आलोचना गर्दै आइरहेका छन् । वास्तवमा यस्तो मोडल ती एयरलाइनका लागि घातक साबित हुन्छ जसले अन्तर्राष्ट्रिय रुटमा पनि सेवा प्रदान गर्छन् ।

एजेन्सीकाे सहयाेगमा