पेमेन्ट गेटवेमा थपियो वालेट लोड गर्न नपर्ने ‘सेलपे’

सेलकम कम्पनीले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकमा सेवा प्रदान गर्ने निर्णयका साथ नयाँ पेमेन्ट गेटवे सेलपे लन्च गर्न लागेको हो । आईएमएस गु्रपअन्तर्गत आउन लागेको सेलपेले डिजिटल पेमेन्टमा नयाँ शैली अपनाउने कम्पनीले जनाएको छ ।

डिजिटल पेमेन्टको संस्कृति बढ्दै जान थालेपछि नयाँ पेमेन्ट गेटवे कम्पनीहरु पनि थपिँदै जान थालेका छन् । डिजिटल पेमेन्टप्रति आकर्षण बढ्न थालेपछि कम्पनीहरुले पनि नयाँ नयाँ विशेषता र सुविधासहित आफ्ना प्रडक्ट सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा नयाँ विशेषता र सुविधासहित आउन लागेको पेमेन्ट गेटवे कम्पनी हो, ‘सेलपे’ ।

सन् २०१३ मा टेलिकम सेवाप्रदायक कम्पनी एनटीसी र एनसेलको पिन पन्चिङ सेवालाई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप बिल पेमेन्ट सेवा सुरु गर्ने सेलकम कम्पनीको अस्तित्वबारे उसका सीमित सेवाग्राहीलाई मात्र थाहा थियो । तर, अहिले सेलकम कम्पनीले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकमा सेवा प्रदान गर्ने निर्णयका साथ नयाँ पेमेन्ट गेटवे सेलपे लन्च गर्न लागेको हो । आईएमएस गु्रपअन्तर्गत आउन लागेको सेलपेले डिजिटल पेमेन्टमा नयाँ शैली अपनाउने कम्पनीले जनाएको छ ।

पेमेन्ट गेटवे सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजार छिरेको कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले क्यापिटल नेपाललाई बताए ।

सामान्य भाषामा बुझ्दा सेलपे पनि ई–सेवा र खल्ती जस्तै एउटा अनलाइन पेमेन्ट सेवा प्रदान गर्ने गेटवे संस्था हो । टपअप बिल पे, खानेपानी, टीभी, नेट, बिजुलीलगायतका युटिलिटी पेमेन्ट अथवा उपभोग महसुल, फिल्म टिकट तथा बैङ्किङ कारोबारमा फन्ड ट्रान्सफरको सेवा जस्ता अनलाइन पेमेन्ट गेटवेको आधारभूत काम यसले गर्ने छ ।

यी आधारभूत सेवा प्रदान गर्नकै लागि सेलपे किन अनलाइन पेमेन्ट गेटवेको यस्तो प्रतिस्पर्धी बजारमा छिर्यो भन्ने उत्सुकताको जवाफमा प्रबन्ध निर्देशक प्रधानले नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । ‘सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउन नपर्ने हो,’ उनले भने ।

यस्ता छन् विशेषता

आधिकारिकरुपमा लन्च हुनुअघि नै १४ ओटा बैङ्कसँग टाइअप गरिसकेको सेलपेबाट फन्ड ट्रान्सफर कारोबार गर्दा सेवाग्राहीले अन्य ई–पेमेन्ट गेटवेमा जस्तो बारम्बार आफ्नो बैङ्किङ खाता नम्बर उल्लेख गर्नु पर्दैन । एक पटक केवाईसी फर्म भर्दा सम्पूर्ण बैङ्किङ विवरण उपलब्ध गराएपछि सेवाग्राहीको फोन नम्बर र सेलपेसँग रहेको बैङ्किङ विवरणबाटै सम्पूर्ण कारोबार सम्भव हुन्छ । सेलपे एप प्रयोगकर्ताले आफ्नो जुनसुकै बैङ्क खाता चयन गरेर प्रापकलाई पैसा पठाउन सक्छन् । तर, यसमा अन्य ई–पेमेन्टमा जस्तो प्रापक सम्बन्धित ई–पेमेन्ट सेवामा दर्ता हुनुपर्दैन । सेलपेबाट कारोबार गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवैतर्फ सेलपेका साझेदार बैङ्कहरुसँगै सेलपेमा पनि दर्ता भएको हुनुपर्छ । बैङ्किङ कारोबारको हकमा पठाउने व्यक्तिले जुनसुकै बैङ्किङ खाता चलाए पनि प्राप्त गर्ने व्यक्तिले एउटा डिफल्ट खाता चयन गर्नु पर्छ ।

यसबाहेक सेलपेको अर्को फाइदा भनेको यो अन्य ई–पेमेन्ट जस्तो वालेट प्रणालीमा चल्दैन । यसमा वालेट लोड गरिरहनु पर्ने झन्झट हुँदैन । बीचमा वालेट नभएका कारण प्रयोगकर्ताको पैसा उसैको खातामा हुन्छ । ब्याज आइरहन्छ र अन्य सेवा प्रदायकमा झैं वालेट लोड गरिरहनु पर्दैन । सेलपेले सीधा रियल टाइममा दुई बैङ्कबीच मध्यस्थकर्ताका रुपमा कारोबार सम्पन्न गराउँछ । यसो हुँदा प्रयोगकर्ताले विश्वास गर्ने बैङ्कमा उसको रकम रहिरहन्छ भने वालेट लोड गर्नलाई पैसा झिक्दा र पैसा बढी भएर पुनः बैङ्कमै फिर्ता गर्दा लाग्ने चार्जबाट पनि उनीहरु जोगिन्छन् । साथै पैसा बैङ्कमै भइरहने हुँदा उनीहरुको ब्याज पनि आइरहन्छ ।

यसबाट फन्ड रिक्वेस्ट गर्न पनि सम्भव छ । यदि सेलपेमा दर्ता एक जना व्यक्तिले अर्कोलाई फन्ड ट्रान्सफरका लागि रिक्वेस्ट गर्छ र उसले त्यसलाई अप्रुभ गर्छ भने रियल टाइममा रिक्वेस्ट गर्ने व्यक्तिको खातामा पैसा आउँछ ।

यसबाट डिपार्टमेन्ट स्टोर तथा सपिङको अकाउन्ट–टु–अकाउन्ट प्रणालीमार्फत भुक्तानी गर्न सकिन्छ । कार्ड स्वापमा जस्तो यसमा झन्झट र लामो समय लाग्दैन । यसमा व्यापारीले रियल टाइममै पैसा पाउँछन् । साथै सेलपेले मर्चेन्टसँग अन्य भुक्तानी माध्यमभन्दा निकै कम सेवा शुल्क लिनेछ ।

दुई सातापछि हुँदैछ सार्वजनिक

वालेट सेवा नभएर बैङ्क अकाउन्ट लिङ्क मोडलमा सुरु भएको यो सेवा कम्पनीले दुई सातापछि सार्वजनिक गर्दैछ ।

‘विगतमा आफ्ना आठ ओटा साझेदार बैङ्कसँग टाइअप गरेर दूरसञ्चारको पिनलेस टपअप बिल पेमेन्टमा मात्र सीमित रहेको तथा इजाजतपत्र लिनुपर्ने व्यवस्था आएपछि थप शीर्षकमा सेवा विस्तार गर्ने निर्णय लिएका हौं,’ उनले भने ।

पुराना सेवाग्राही करिब डेढ लाख रहेको सेलकमले पुरानो सेवालाई यथावत नै राखेर नयाँ सेवालाई एपमार्फत सार्वजनिक गरेर पुराना सेवाग्राहीलाई नयाँ सेवामा प्रवेश गराउने लक्ष्य लिएको छ ।