आजसम्म लाइसेन्स नवीकरण शुल्क नतिरे एनसेललाई पाँच प्रतिशत जरिवाना

दोस्रो पटकको नवीकरणीय शुल्क तिर्न आर्थिक क्षमता नभएको भन्दै आठ किस्तामा तिर्न पाऊँ भनी एनसेलले जेठ ६ गते प्राधिकरणलाई पत्र पठाएको थियो । एनसेलले पत्रमा एकैपटक २० अर्ब तिर्न कम्पनीको वित्तीय स्रोतले धान्न नसक्ने र एकै पटक तिर्दा नियमित नगद प्रवाहमै असर पर्ने उल्लेख गरेको छ ।

काठमाडौं । निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरणको शुल्क तिर्नुपर्ने समयसीमा जेठ १५ गते अर्थात् आज हो । पाँच प्रतिशत जरिवानासहित २३ अर्ब रुपैयाँ शुल्क तिर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।

आज शुल्क नतिरेको खण्डमा २० अर्ब नविकरणीय शुल्कको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने प्राधिकरणका सूचना अधिकारी सन्दीप अधिकारीले जानकारी दिए ।

दोस्रो पटकको नवीकरणीय शुल्क तिर्न आर्थिक क्षमता नभएको भन्दै आठ किस्तामा तिर्न पाऊँ भनी एनसेलले जेठ ६ गते प्राधिकरणलाई पत्र पठाएको थियो । एनसेलले पत्रमा एकैपटक २० अर्ब तिर्न कम्पनीको वित्तीय स्रोतले धान्न नसक्ने र एकै पटक तिर्दा नियमित नगद प्रवाहमै असर पर्ने उल्लेख गरेको छ ।

तर किस्ता सुविधा दिने विषयमा निर्णय लिन प्राधिकरणको अधिकार क्षेत्रभित्र नपरेका कारण दूरसञ्चार ऐनको दफा २ अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनलाई प्राधिकरणले मान्ने व्यवस्था रहेको अधिकारीले बताए ।

‘तोकिएको समयसीमा भन्दा तीन महिनाअघि नै शुल्क र निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । किस्ता सुविधा सरकारले पहिलो नवीकरणीय शुल्क बुझाउँदा मात्र सम्पूर्ण सेवाप्रदायकलाई प्रदान गर्दै आएको हो’, उनले भने, ‘म्याद थप गर्ने कुरा आउँदैन । आजसम्म नबुझाए एनसेलले सम्पूर्ण नवीकरण शुल्कको पाँच प्रतिशत जरिवाना शुल्कसहित बुझाउनुपर्छ ।’

सेवाप्रदायकहरुले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।