१ अर्ब ३७ करोड लागतको नमुना विद्यालय योजना कार्यान्वयन गर्ने प्रतिबद्धता

बिर्तामोड नगर प्रमुख धु्रवकुमार शिवाकोटी नमुना विद्यालयका लागि भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर र प्रविधियुक्त शिक्षामा जोड दिएका छन् । संवाद समूह झापाको संयोजनमा उक्त छलफल सम्पन्न भएको थियो । नमुना विद्यालयको उक्त योजना बिर्तामोडको गहना हुने बताउँदै त्यसको कार्यान्वनयमा तत्काल अग्रसर हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमुना विद्यालय’ बनाउने एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘महेन्द्र रत्न माविलाई नमुना विद्यालय बनाउने सन्दर्भमा साढे नौ बिघा क्षेत्रफलमा त्यहाँ जग्गा भोगचलन गर्ने किसानलाई आन्तरिक सहमतिबमोजिम उचित व्यवस्थापन गर्दै एक सय ३७ करोड लागत स्टिमेटको कार्ययोजना पूर्ण सहयोगका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दछौं,’ साझा प्रतिबद्धता गर्दै उनीहरूले भनेका छन्, ‘सबै सरोकारवालालाई समेत यस कार्यका लागि सहयोगको आह्वान गर्दछांै ।’

बिर्तामोड नगर प्रमुख धु्रवकुमार शिवाकोटी नमुना विद्यालयका लागि भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर र प्रविधियुक्त शिक्षामा जोड दिएका छन् । संवाद समूह झापाको संयोजनमा उक्त छलफल सम्पन्न भएको थियो । नमुना विद्यालयको उक्त योजना बिर्तामोडको गहना हुने बताउँदै त्यसको कार्यान्वनयमा तत्काल अग्रसर हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

छलफलमा नेपाल कम्प्युनिष्ट पार्टी बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईं, नेपाली कांग्रेसका कार्यवाहक बिर्तामोड सभापति लक्ष्मी आचार्य, विद्यालयका पूर्व अध्यक्ष तथा पूर्व जनप्रतिनिधि लोकबन्धु कन्दङ्वा, नेकपाका युवा नेता सीपी कडरिया, राप्रपाका बिर्तामोड अध्यक्ष शंकर रिजालले नमुना विद्यालयका लागि सबै राजनीतिक दल एकै ठाउँमा उभिएर निःस्वार्थ र निष्पक्ष ढंगले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पर्शुराम शिवाकोटी, प्रधानाध्यापक मनबहादुर लिम्बू, व्यवस्थापन समिति तथा अभिभावकका प्रतिनिधि श्री सिटौलाले नमुना विद्यालयको योजना कार्यान्वनयमा पारदर्शी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए । जग्गा जोतभोग गर्ने किसानको तर्फबाट प्रतिनिधि भवानी रेग्मी, हरि तिम्सिना र देवीचरण रेग्मीले सहमतिको कार्यान्वयन इमान्दार ढंगले गर्नुपर्नेमा जोड दिँदै नमुना विद्यालय निर्माणका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संवाद समूहका सदस्य तथा विद्यालयको जग्गा व्यवस्थापन समितिका सदस्य सीपी कडरियाका अनुसार वरिष्ठ अधिवक्ता टंक उप्रेतीको संयोजकत्वमा गठित समितिको निर्णय र सिफारिस बमोजिम जग्गा जोतभोग गर्ने किसानसँग सहमति जुटेको छ । जसअनुसार प्रति विगाह जोतभोग बराबर दुई कठ्ठा जग्गा ९९ वर्ष ‘लिज’ सम्झौतामा कृषकलाई दिइने छ ।

स्थानीय तहलाई अधिकार प्राप्त भएपछि कानून बनाएर लिजमा दिइएको जग्गाको कृषककै नाममा अधिपूर्जा दिइने नगरप्रमुख शिवाकोटीले बताए । अहिले कानूनको अभावमा लिजको व्यवस्था पनि विधिसम्वत रुपमै गरिएको उनले बताएका छन् ।

नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईंले तीन पुस्ताको जोगभोग रहेको विद्यालयको जग्गा व्यवस्थापनमा राजनीतिक दलले देखाएको एकताको प्रशंसा गर्दै सहारा नेपाल, ह्याविट्याट, बिर्तामोड नगरपालिकाको साझेदारीमा कृषकका घर व्यवस्थापन गर्न उपयुक्त हुने धारणा राखे ।