पुनर्निर्माण प्राधिकरणद्वारा पाँच एकीकृत बस्ती विकास योजना स्वीकृत

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ, जसमा ४० घरधुरी रहनेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकमा पाँच ओटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ, जसमा ४० घरधुरी रहनेछन् ।

बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा ७० घरधुरी रहनेछन् । सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घरधुरी रहनेछन् ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् ।

बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ, जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का लागि इन्जिनियरसहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ छन् ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए÷नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।