जिम्मेवार व्यावसायिक अभ्यास

समाजका गुणदोष व्यवसायमा पनि प्रतिबिम्बित हुन्छन् । जसरी सफल व्यवसायविना सफल समाज निर्माण गर्न सकिँदैन, त्यसैगरी समस्याग्रस्त समाजमा व्यवसाय पनि सफल हुन सक्दैन ।

व्यावसायिक सामाजिक उत्तरदायित्वलाई जनाउने तथा यसैसँग मिल्दाजुल्दा थुप्रै शब्द र अवधारणा छन् । जस्तै —दिगो व्यवसाय, जिम्मेवार व्यवसाय, सामााजिक जिम्मेवारी, व्यावसायिक नागरिकता, व्यावसायिक नैतिकता/इमानदारी, सामाजिक उद्यमशीलता आदि । स्वाभाविक रुपमा यस क्षेत्रका नवप्रवेशीहरु अल्मलिने र हराउने गर्छन् । केही सानामसिना फरक भए पनि मूल कुरा भनेको कुनै पनि व्यवसाय जिम्मेवार हुनुपर्छ भन्ने मान्यताले सञ्चालन हुने वा भइरहेको व्यवसाय र उक्त व्यवसाय अवस्थित समाजको सम्बन्धलाई इङ्गित गरेको हुन्छ ।

व्यावसायिक जिम्मेवारी वा व्यावसायिक सामाजिक जिम्मेवारी (कर्पोरेट रेस्पोन्सिबिलिटी) निकै नै प्रचलित शब्द हो । नेपालमा मात्र होइन, सीएसआरको अवधारणा विश्वभर नै द्रुत गतिमा विकास हुँदै आएको छ । सन् २०१५ मा केएमपीजी कम्पनीले गरेको ४५ देशका ४ हजार ५ सय उद्योग व्यवसायका प्रतिवेदनहरुको अध्ययनअनुसार विश्वका सर्वाधिक आम्दानी गर्ने २ सय ५० कम्पनीहरुमध्ये ९० प्रतिशतभन्दा बढीले व्यावसायिक जिम्मेवारीसम्बन्धी छुट्टै प्रतिवेदन सार्वजनिक गर्छन् । उक्त अध्ययनअनुसार सन् २०१५ मा ५ मध्ये ३ ओटा कम्पनीले यस्ता तथ्याङ्कहरु आफ्नो वार्षिक आर्थिक प्रतिवेदनमा समावेश गरेका छन्, जब कि सन् २०११ मा ५ मध्ये एउटा कम्पनीले मात्र गर्ने गर्थे । नेपालमा पनि आर्थिक वर्ष २०७३/७४ देखि लागू हुने गरी नयाँ औद्योगिक व्यवसाय ऐन र मौद्रिक नीति गरी दुई महङ्खवपूर्ण कानुनी दस्तावेजमार्फत व्यावसायिक सामाजिक जिम्मेवारीलाई बाध्यकारी बनाएको छ । विश्वमा अफ्रिकी मुलुक मरिसियस र छिमेकी राष्ट्र भारतपछि सीएसआरलाई बाध्यकारी बनाउने नेपाल तेस्रो देश हुन पुगेको छ ।

व्यवसाय समाजभन्दा निरपेक्ष हुन सक्दैन । व्यावसायिक जगत् समाजको अभिन्न अङ्ग हो । समाजमा रहेका गुणदोषहरु व्यवसायमा पनि प्रतिबिम्बित हुन्छन् । जसरी सफल व्यवसायबिना सफल समाज निर्माण गर्न सकिँदैन, त्यसैगरी असफल, द्वन्द्वरत वा अन्य समस्याग्रस्त समाजमा व्यवसाय पनि सफल हुन सक्दैन । व्यवसायले आफ्ना गतिविधिहरु सञ्चालन गर्दा मानव, समुदाय, वातावरण एवम् समाजलाई प्रभावित तुल्याइरहेको हुन्छ । व्यवसायको आकार, प्रकृतिअनुसार व्यवसायको प्रभाव क्षेत्र फरकफरक हुन्छ । आफ्नो प्रभाव क्षेत्रमा पार्ने असरहरुप्रतिको जिम्मेवारी नै व्यावसायिक जिम्मेवारी हो । अर्थात् व्यवसायले प्रत्यक्ष वा परोक्ष रुपमा समाज र वातावरणमा सकारात्मक तथा नकारात्मक प्रभावहरुको विश्लेषण गरी सकारात्मक प्रभावलाई दिगो बनाउने र नकारात्मक प्रभावको रोकथाम एवम् न्यूनीकरण गर्नु व्यवसायको जिम्मेवारी हो ।

व्यवसायको प्रथम र आधारभूत जिम्मेवारी आर्थिक प्रकृतिको हुन्छ, जसअन्तर्गत न्यूनतम लागतमा वस्तु तथा सेवाको प्रवाह गर्ने, रोजगारी सिर्जना गर्ने, स्रोतहरुको अधिकतम उपभोग गर्ने, नवीनतम प्रविधिहरुको सिर्जना आदि पर्छन् । तर यतिमै मात्र व्यवसायको जिम्मेवारीको अन्त्य हुँदैन । आर्थिक जिम्मेवारीसँगै व्यवसायको समाजप्रति र वातावरणप्रति पनि महङ्खवपूर्ण दायित्वहरु हुन्छन् । समाजप्रतिको जिम्मेवारीअन्तर्गत मानवीय जगत्जस्तै व्यवसायमा आश्रित कामदारहरु, उपभोक्ताहरु आदि, राज्य एवम् सरकारी निकाय, स्थानीय समुदायप्रतिको जिम्मेवारी पर्छन् । वातावरणप्रतिको जिम्मेवारीअन्तर्गत प्राकृतिक वातावरणको दिगो उपभोग र मानवनिर्मित सांस्कृतिक वातावरणको संरक्षण संवद्र्धन आदि पर्छन् । सामाजिक, वातावरणीय र आर्थिक जिम्मेवारीहरुको समिश्रण नै समष्टिगत रुपमा व्यावसायिक जिम्मेवारी हो ।

व्यवसायले आफ्ना प्रमुख सरोकारवालाहरुलाई निरन्तर रुपमा विश्वासमा लिई, उनीहरुसँग मजबुत सम्बन्ध विकास गर्नुपर्छ । कुनै सरोकारवालासँग द्वन्द्वको अवस्था सिर्जना भएमा व्यावसायिक गतिविधिहरुको निरन्तरता, सुरक्षालगायतका विषयमा जोखिम सिर्जना गर्न सक्छ । त्यसकारण द्वन्द्व एवम् जोखिम व्यवस्थापनका लागि पनि जिम्मेवार व्यावसायिक अभ्यास महङ्खवपूर्ण हुन्छ । जिम्मेवार व्यवसाय कुनै क्षणिक कार्यक्रम होइन, यो व्यवसाय सञ्चालन गर्ने रणनीति हो । सही ढङ्गले व्यावसायिक जिम्मेवारीलाई आत्मसात् गर्ने उद्योग व्यवसायले आर्थिक, सामाजिक र वातावरणीय मूल्यको सिर्जना गर्छ । मोटामोटी रुपमा माथि उल्लिखित मान्यताहरुले जिम्मेवार व्यवसायको अवधारणालाई प्रस्ट पार्छन् ।

सीएसआर क्षेत्रका प्रसिद्ध अमेरिकीविज्ञ आर्ची क्यारोलका अनुसार आधुनिक व्यवस्थापन क्षेत्रमा व्यावसायिक जिम्मेवारीको अवधारणाको उदय होवार्ड बाओम्यानले सन् १९५३ मा ‘व्यावसायिक सामाजिक जिम्मेवारीहरु’ विषयक पुस्तकको प्रकाशनबाट भएको हो । उनको यो कथनलाई स्वीकार गर्ने हो भने आधुनिक सीएसआरको विकासक्रम आजको दिनसम्म छैटौं दशकमा छ । आर्ची क्यारोल सीएसआरको क्षेत्रका कलम चलाउने प्रख्यात लेखक एवम् अन्वेषक थिए र उनले सन् १९९१ मा प्रतिपादन गरेको सीएसआरको पिरामिडको अवधारणा एक विश्वचर्चित मोडल हो । उनको मोडलअनुसार व्यवसायले चार तहका जिम्मेवारीहरु वहन गनुपर्छ । (क) आर्थिक जिम्मेवारीहरु, (ख) कानुनी जिम्मेवारीहरु, (ग) नैतिक जिम्मेवारीहरु र (घ) परोपकारी जिम्मेवारीहरु । यी चार तहमध्ये पहिलो आर्थिक जिम्मेवारी आधारभूत हो भने अन्तिम परोपकारी जिम्मेवारीहरु स्वैच्छिक हुन् ।

त्यसैगरी बेलायती व्यवस्थापनविज्ञ जोन एल्किङ्टन सीएसआरको क्षेत्रमा प्रसिद्ध अर्का व्यक्ति हुन्, जसले जिम्मेवार व्यवसायका आर्थिक, सामाजिक र वातावरणीय गरी तीन पक्ष हुन्छन् भन्ने मान्यता स्थापित गरे । सन् १९९४ मा उनले प्रतिपादन गरेको ट्रिपल बटल लाइनको मोडलअनुसार व्यवसायले आर्थिक क्षेत्र वा नाफालाई मात्र एकोहोरो लक्ष्य राखेर व्यावसायिक रणनीति निर्माण गर्नुको साटो सामाजिक क्षेत्र र वातावरणीय क्षेत्र गरी तीनओटा आधारभूत रेखाहरु (बटम लाइन) लाई प्रभावित गर्ने गरी व्यावसायिक रणनीति निर्माण गर्नुपर्छ । उनले यी तीनै क्षेत्रमा पर्ने प्रभावहरुको मूल्याङ्कन गरी अभिलेख राख्ने विधिसमेत सुझाए । क्यारोल र एल्किङ्टनपछि पनि थुपै्र व्यवस्थापन विज्ञहरुले यस क्षेत्रमा निरन्तर खोज, लेखनहरु जारी नै राखेका छन् ।

प्रबुद्ध प्राज्ञहरु जस्तै नागरिक समाजका गैरनाफामूलक संस्थाहरुले पनि सीएसआरको विकासमा धेरै महत्त्वपूर्ण योगदान पुर्याएका छन् । संयुक्त राष्ट्रसङ्घद्वारा गठित ब्रन्डलान्ड आयोगले सन् १९८७ मा प्रकाशन गरेको प्रतिवेदनले दिगो विकासको अवधारणा ल्याएपछि व्यावसायिक जगत्को ध्यान पनि त्यतातर्फ मोडिन थाल्यो । ब्रिटिस गैसस अक्सफामले सन् १९६५ मा फेयर टे«ड वा स्वच्छ व्यापारका प्रारम्भिक मोडलहरु कार्यान्वयनमा ल्याए, जुन अहिले विश्वभर विख्यात भइसकेका छन् । सीएसआरका प्रगति प्रतिवेदनहरुलाई स्तरीकरण गर्न ग्लोबल रिपोर्टिङ इनिसियटिभले सन् १९९७ देखि नै प्रतिवेदन बनाउने विधि तरिका, यसका ढाँचा एवम् महङ्खवपूर्ण अवयवहरु रहने गरी निर्देशिका जारी गरेको थियो, जसलाई जीआरआई स्ट्यान्डर्ड भनिन्छ । त्यसैगरी सन् १९९९ को विश्व आर्थिक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव कोफी अन्नानले विश्व व्यावसायिक समुदायलाई दिगो तथा सामाजिक रुपमा जिम्मेवार नीतिहरु अख्तियार गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न र वार्षिक प्रगतिको प्रतिवेदन सार्वजनिक गर्न आह्वान गर्दै यूएन ग्लोबल कम्प्याक्टको घोषणा गरे । विश्वका १ सय ७० भन्दा बढी मुलुकमा १३ हजारभन्दा बढी व्यवसायहरुको सहभागितामा सञ्चालन भइरहेको यो ग्लोबल कम्प्याक्ट नै जिम्मेवार व्यवसायको सन्दर्भमा विश्वको सबैभन्दा ठूलो व्यावसायिक अभियान हो । त्यसैगरी अन्तर्राष्ट्रिय मापदण्ड सङ्घ आईएसओले सन् २०१० मा पहिलो पटक जिम्मेवार व्यवसायलाई स्तरीकरण गर्ने मापदण्डको निर्देशिका “आईएसओ २०१० गाइडेन्स अन सोसियल रेस्पोसेबिलिटी”को प्रकाशन गरी यस क्षेत्रमा रहेका अनेक भिन्न बुझाइहरु र छरिएर रहेका अभ्यासहरुलाई एकीकृत गर्ने प्रयास गर्यो  ।

विज्ञ लेखक, सामाजिक संस्था जस्तै विभिन्न देशका सरकारले पनि सीएसआरलार्ई प्रवद्र्धन गर्न पहलकदमीहरु लिएका छन् । अफ्रिकी मुलुक मरिसियसले पहिलो पटक सन् २००९ मा देशभित्रका उद्योग व्यवसायहरुले २ प्रतिशत नाफा सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्थासहितको आयकर ऐन निर्माण गरी लागू ग¥यो । त्यसैगरी भारतले सन् २०१३ मा आफ्नो कम्पनी ऐन परिमार्जन गरी सोही प्रकितिको २ प्रतिशत नाफा सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था अवलम्बन ग¥यो । नेपालले पनि नयाँ औद्योगिक व्यवसाय ऐन २०७३ र २०७३ को मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्र एवम् उद्योग क्षेत्रभित्र पर्ने व्यवसायहरुलाई मुनाफाको १ प्रतिशत रकम सीएसआरमा खर्च गर्ने प्रावधान ल्याएको छ । यी तीन उदाहरणबाहेक अन्य मुलुकमा सीएसआरलाई नाफाको प्रतिशतका आधारमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छैन । अन्य मुलुकहरुले बाध्यकारी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेका छन् । जस्तै डेनमार्कले सन् २००९ देखि २५० भन्दा बढी कामदार रहेको सबै कम्पनीले सीएसआरसम्बन्धी जानकारीहरु सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै व्यवस्था भारतले सन् २०११ देखि आर्थिक, सामाजिक र वातावरणीय प्रभाव सार्वजनिकीकरण गर्ने स्वैच्छिक अभियान सञ्चालन गरेको थियो । चीनले सन् २००६ मा आप्mनो ११औं पञ्चवर्षीय योजनामार्फत सीएसआरलार्ई मूल धारमा समाहित गरी चिनियाँ मोडलको सीएसआरलार्ई प्रवद्र्धन गरिरहेको छ ।

अन्त्यमा, सीएसआर वा जिम्मेवार व्यवसाय उर्लिंदो र तीव्र गतिमा विकसित हुँदै आएको अवधारणा हो । यसको पक्षमा ६० वर्षदेखि व्यवस्थापकीय विज्ञहरु, विभिन्न गैरसरकारी संस्थाहरु, राष्ट्रका सरकारहरुलगायत अन्य सरोकारवालाहरु लागिपरेका छन् । नेपालमा पनि यसको विकासक्रमलाई नजिकबाट विश्लेषण गरी द्रुत, जिम्मेवार र दिगो आर्थिक विकास गर्ने नेपालीको सपना साकार तुल्याउन पहल गर्नु आवश्यक छ ।

वज्राचार्य राष्ट्रिय व्यावसायिक पहलका कार्यकारी निर्देशक हुन् ।