अमेरिकामा नेपालीको लगानीमा सुरु हुँदै कम्युनिटी बैङ्क

अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ सुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू)लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो ।

अनुमति पाएसँगै निक्षेप सङ्कलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । बैङ्कको उद्घाटनमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरु, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।

अमेरिकाको क्रेडिट युनियनहरुको सर्वोच्च नियामक फेडरल गभर्मेन्टअन्र्तगत रहेको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशन (एनसीयूए)सँग समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको छ । संस्थाका बोर्ड अफ डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र वाल स्ट्रिट नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरु क्रेडिट युनियनहरुका सदस्य छन् । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रुपमा हेर्ने गरिन्छ जो नेपालको कोअपरेटिभ भन्दा धेरै फरक छ । किनकी अमेरिकामा क्रेडिट युनियनले बैङ्कसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँदछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरु नै यसका मालिक हुन् र उनीहरु नै मुनाफामा हकदार हुन्छन् । त्यसैगरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी)ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।