सहज रुपमा वित्तीय सेवा नपुगेका स्थानमा घुम्ती बैङ्किङ सेवाको अवधारणामा वित्तीय कारोबार अघि बढाउनुपर्छ ।
वित्तीय पहुँच विस्तार नभएका क्षेत्रमा घुम्ती बैङ्किङ सेवा सञ्चालन गरिने भएको छ । वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने गरी काम गर्न सरकार अग्रसर देखिएको छ । घुम्ती बैङ्किङ सेवालाई प्रभावकारी रुपमा विस्तार गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले सरोकारवालाईहरुलाई निर्देशनसमेत दिएका छन् ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठकमा अर्थमन्त्री खतिवडाले वित्तीय पहुँच नपुगेका क्षेत्रमा घुम्ती बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिए । गत असारसम्म मुलुकभरका ७ सय ५३ स्थानीय तहहरुमध्ये ६ सय ३१ स्थानीय तहहरुमा वाणिज्य बैङ्कहरु पुगेका छन् । अझै एक सय २२ स्थानीय तहमा बैङ्क पुगेको देखिँदैन । ‘कतिपय स्थानीय तहमा मानिसहरुको बसोवास नै मौसमी रुपमा हुने भएकाले त्यस्ता स्थानीय तहमा शाखा खोल्दा त्यही हिसाबले खोल्नुपर्ने देखिन्छ,’ उनले भने, ‘सहज रुपमा वित्तीय सेवा नपुगेका स्थानमा घुम्ती बैङ्किङ सेवाको अवधारणामा वित्तीय कारोबार अघि बढाउनुपर्छ ।’ बैङ्क तथा वित्तीय संस्थाहरु (लघुवित्तसमेत)को शाखा मुलुकभर ६ हजार ६ सय ५१ पुगेको छ ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्न, सरकारले उपलब्ध गराउन गराउनुपर्ने अनुदान एकद्वार प्रणालीबाट प्रदान गर्न, सरकारी खर्च प्रणालीमा प्रभावकारिता अभिवृद्धि गर्न आआफ्ना जिम्मेवारीलाई थप तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिए । उनले विप्रेषण आयलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकारी तबरबाट थप प्रयास गरिने बताए ।
त्यस अवसरमा गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैङ्कले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा आफूले पूर्ण जिम्मेवारी सम्हाल्ने बताए ।
कार्यक्रममा अर्थसचिव डा. राजन खनालले अर्थ मन्त्रालय र मातहतका निकायहरुले पुँजीगत खर्चमा थप प्रभावकारिता ल्याई बेरुजु फछ्र्योट, खर्चको अभिलेखीकरण, प्रतिवेदन र पारदर्शिता कायम गर्ने सवालमा महालेखा नियन्त्रक कार्यालय थप सक्रिय हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा राजस्व सचिव शिशिरकुमार ढुङ्गाना, महालेखा नियन्त्रक सुरेश प्रधानलगायतले कर्मचारी आआफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाए लक्षित उपलब्धि हासिल हुनेमा जोड दिएका थिए ।