नोटबन्दी गर्न सांसदहरुको लबिङ, भ्रष्टाचार निर्मूल पार्न नोटबन्दी गनुपर्नेमा नेताहरुको जोड

अर्थ समितिमा पूर्व उद्योगमन्त्री समेत रहेका नेकपाका सांसद महेश बस्नेतले नेपालमा कालोधनको खेती बढ्दै गएको भन्दै नोटबन्दीको प्रस्ताव गरेका छन् । उनले तत्काल पाँच सय र एक हजार दरका नयाँ नोट छापेर प्रचलनमा ल्याउनुपर्नेमा जोड दिए ।

अनौपचारिक कारोबार वृद्धि भइरहेको भन्दै ठूला दरका पुराना नोट बन्देज गर्नुपर्नेमा सांसदहरुले लबिङ थालेका छन् ।

नेकपाका सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न नोटबन्दी गर्नुपर्ने भन्दै सार्वजनिक बहस सुरु गरेका छन् । त्यसैको परिणाम गत साता नोटबन्दीले सङ्घीय संसदमै स्थान पायो ।

सङ्घीय संसदको अर्थ समितिमा नेकपाका सांसदले भ्रष्टाचार अन्त्यका लागि नोटबन्दी गर्नुपर्ने बताए । त्यही कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदै गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले नै नोटबन्दी गर्ने बेला आइनसकेको बताए । यसले नेपालमा नोटबन्दीको पक्ष र विपक्षमा बहस सुरु गराएको छ । अर्थ समितिमा पूर्व उद्योगमन्त्री समेत रहेका नेकपाका सांसद महेश बस्नेतले नेपालमा कालोधनको खेती बढ्दै गएको भन्दै नोटबन्दीको प्रस्ताव गरेका छन् । उनले तत्काल पाँच सय र एक हजार दरका नयाँ नोट छापेर प्रचलनमा ल्याउनुपर्नेमा जोड दिए । उनले यो रकम साट्न दुई महिनाको समय उपयुक्त हुने पनि सुझाए । ‘पछिल्लो समयमा नेपालमा कालोधनको कारोबार व्यापक रुपमा बढेकाले त्यसलाई निस्तेज पार्न नोटबन्दी आवश्यक छ,’ बस्नेतले भनेका छन्, ‘अर्थतन्त्रमा धेरै पैसा औपचारिक प्रणालीभन्दा बाहिर छ ।’

यद्यपि पूर्व अर्थमन्त्री समेत रहेका नेकपाकै सांसद तथा स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डे, पूर्व गृहमन्त्री समेत रहेका स्थायी समिति सदस्य तथा सांसद भीम रावललगायतले भने पाँच सय र एक हजार दरका नोट सञ्चालनमै बन्देज लगाउनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक रुपमै उनीहरुले भ्रष्टाचार अन्त्यका लागि नोटबन्दी महत्त्वपूर्ण विकल्प भएको र ठूला दरका नोट बोक्ने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । ठूला दरका नोटमा बन्देज लगाउँदा भ्रष्टाचार कम हुने भन्दै उनीहरु नोटबन्दीको सार्वजनिक रुपमै बहसमा उत्रिएका छन् ।

खासगरी पछिल्लो पटक २०१६ मा भारतमा नरेन्द्र मोदी सरकारले कालोधन समाप्त पार्न भन्दै नोटबन्दी गरेपछि नेपालमा पनि विस्तारै त्यसको प्रभाव पर्न थालेको छ । भारतमा त्यतिबेला नोटबन्दी गर्दा ९९ प्रतिशत रकम औपचारिक प्रणालीमै भित्रिए पनि त्यसले लामो समयदेखि वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधानको अचुक अस्त्र बन्न पुग्यो । जसले गर्दा भारतको वित्तीय बजारमा विद्युतीय भुक्तानी प्रणालीको विकास तीव्र गतिमा गरिरहेको मात्र छैन औपचारिक प्रणालीमा कारोबार बढ्दै गइरहेको छ ।

अनौचारिक कारोबार व्यापक रुपमा बढिरहँदा नोटबन्दी उपयुक्त विकल्प हुनसक्छ । तर, त्यसका लागि हतार भने गर्नु हुँदैन । आर्थिक विकासले गति लिइरहँदा नोटबन्दीको आवश्यकता अझ खड्किनेछ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधा हिस्सा कालो धन (ब्ल्याक मनी)ले ओगटेको अनुमान गरिँदै आएको छ । खासगरी नयाँ सरकार गठनसँगै धेरै मानिसहरुले पैसा वित्तीय प्रणालीमा ल्याउन चाहिरहेका छैनन् र यो सरकारलाई विश्वास गर्न नसक्ने बताइरहेका छन् । यस्तो बेला नोटबन्दी झनै आवश्यक हुन्छ ।

खासगरी आर्थिक विकासले गति लिने बेला व्यापक रुपमा लगानी बढाउनुपर्ने हुन्छ । त्यसका लागि बैङ्क तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य) रकमको अभाव हुनुहुँदैन । वित्तीय क्षेत्रमा केही समयदेखि देखिएको तरलता अभावलाई पूर्ण रुपमा हटाउन पनि नोटबन्दीको विकल्प छैन ।

गभर्नर नेपालले भनेजस्तै नोटबन्दी संवेदनशील विषय त हो, तर, सोच्नै नहुने विषय भने होइन । नोटबन्दीमा भारतले नै भारतीय रुपैयाँ (भारु)को विश्वसनीयता गुमाउनु परेको भन्दै गभर्नर नेपालले नोटबन्दीबारे अहिले नै सोच्न नहुने बताउँदै आएका छन् । अवश्य पनि नोटबन्दी संवेदनशील कुरा हो । तर, नोटबन्दीले आफ्नो मुद्राको अन्तर्राष्ट्रिय विश्वसनीयता गुम्ने भन्ने कुरा नोटबन्दी नचाहने र कालो धनको खेती गर्नेहरुका लागि मसला मात्रै हो ।

नोटबन्दी गर्दा सरकारले दुई ओटा विकल्पमा सोच्नुपर्छ । पहिलो त सकेसम्म पाँच सय र एक हजार दरका ठूला नोट चलाउन नै बन्देज गर्नुपर्छ । यदि त्यस्तो सकिँदैन भने ५ सयको नोट मात्रै सीमित मात्रामा नगद बोक्ने व्यवस्था गर्नुपर्छ । जब सरकारले तोकेको सीमित अवधिमा व्यक्तिहरु पैसा बोकेर बैङ्क तथा वित्तीय संस्थामा साट्न आउँछन्, त्यतिबेला अधिकतम ५ हजार रुपैयाँसम्म मात्र नगद साटिने र अरु बैङ्कमै निक्षेपका रुपमा राख्ने व्यवस्था गर्नुपर्छ । सामान्य परिवारका लागि ५ हजार रुपैयाँ भए करिब एक साताका लागि घरखर्च चल्छ । अरु सबै कारोबार चेक वा कार्डको माध्यमबाट मात्रै भुक्तानी गर्ने व्यवस्था गर्नुपर्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु पनि नोटबन्दी उपयुक्त समयमा गर्नुपर्ने र त्यसका लागि हतार गर्न नहुने बताउँछन् । खासगरी आर्थिक वृद्धि दरले तोकेको लक्ष्य एक÷दुई वर्ष हासिल गरेपछि नोटबन्दी गर्दा राम्रो हुने अर्थमन्त्रालयका अधिकारीहरुको भनाइ छ । नोटबन्दी गर्दा धेरै हल्ला गरिँदैन किनकि यस्तो विषयमा धेरै हल्ला गर्दा कालोधन भएकाहरुलाई आफूसँग भएको धन व्यवस्थापन गर्न समय मिल्छ । तर, सरकारका सहयोगीहरुले विस्तारै कुरा उठाउँदै गएकाले केही समयको अन्तरालमा नोटबन्दीको निर्णय हुने सम्भावना बढ्दै गएको छ भने सरकारी संरचनाभित्र पनि यसबारे नजानिँदो ढङ्गले छलफल सुरु भएको छ ।

स्वस्थ कमाइमा अडेका नेपाली बैङ्कर, कर्मचारी तथा राजनीतिज्ञहरु नोटबन्दीको पक्षमा छन् । बैङ्करहरुले बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता समस्या हल गर्न र अनौपचारिक अर्थतन्त्रलाई ‘लिक’मा ल्याउन नोटबन्दी उपयुक्त भएको बताउँदै आएका छन् ।

अमेरिकादेखि कङ्गोसम्मले गरेका छन् नोटबन्दी
खासगरी न्यून आर्थिक विकासबाट गुज्रिएर विकसित चरणमा प्रवेश गर्दा विश्वका धेरै मुलुकहरुले नोटबन्दी गरेर अर्थतन्त्रलाई लिकमा ल्याउने गरेका छन् । सुरुमा नोटबन्दी गर्दा केही असहज भएपनि त्यसले स्वस्थ अर्थतन्त्रको विकास गर्न सहयोग पु¥याएका छन् । यसअघि अमेरिका र भारतले दुई÷दुई पटक नोटबन्दी गरिसकेका छन् । त्यसैगरी रुस, बेलायत, कङ्गो, नाइजेरिया, घाना, उत्तर कोरिया, भेनेजुएला, म्यानमार, जिम्बाबे, अस्ट्रेलिया र युरोपियन युनियनमा आबद्ध मुलुकहरुले पनि नोटबन्दी गरेका थिए ।

नेपालको प्रयास असफल
नेपालमा पनि घोषणा गरेर त होइन तर, तत्कालीन समयमा राजाको तस्बिर अङ्कित नोट हटाउन नेपाल राष्ट्र बैङ्कले प्रयास गरेको थियो । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर भएका बेला २०६७ सालमा ७ महिना (भदौदेखि फागुन)को समय दिएर झुत्रा नोट र राजाको तस्बिर अङ्कित नोट साट्न समय दिइएको थियो ।

२०६७ चैत १ गतेपछि वाणिज्य बैङ्क (नोटकोष तथा सरकारी कारोबार गर्ने शाखा कार्यालयहरु) बाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाहरुले पूर्व राजाको तस्बिर भएका तथा मैला झुत्रा नोट स्वीकार नगर्ने र त्यस्ता नोटहरु २०६७ चैतपछि राष्ट्र बैङ्क वा नोटकोष कारोबार गर्ने बैङ्कमा बुझाउने भनिएको थियो । तर, त्यतिबेला अस्थिर सरकार र राजनीतिक नेतृत्वले सुझबुझपूर्ण व्यवहार नअपनाउँदा त्यो निर्णय फिर्ता लिनुपरेको थियो । यद्यपि केन्द्रीय बैङ्कले सरकारको आशय बुझेर नै यस्तो निर्णय गरेकोमा कुनै शङ्का छैन ।