कार्यक्रममा तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगिता हुने ।
‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा दोस्रो चरणको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । कार्यक्रममा तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगितालगायत कार्यक्रम राखिएको अध्यक्ष गुरुङले बताए ।
त्यस्तै अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएका व्यवसायीहरुलाई सम्मान, पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शनी, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र चित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताए ।
अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविरमा असोज २५ गते सम्पन्न पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडीबुटी तथा परम्परागत होटलको नमुना एवं तस्विरको प्रदर्शनीलगायत कार्यक्रमहरु भएका थिए ।