२०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसकिने

बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

शुक्रबार समितिका संयोजक एवम् तीन नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढङ्गले यथाशीघ्र अघि बढाउन निर्देशन दिए ।

उनले पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नका लागि समयसमयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिएका थिए ।

समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डीएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप संचालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप स्थापना गरी सञ्चालन गरिने जानकारी दिए ।

संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताए ।

समीक्षा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको उपस्थिति थियो ।

काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।