ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच फोनमा एस्योरेन्स सेवा  प्रदान गर्ने सम्झौता

ईजी एस्योरेन्सका अध्यक्ष सञ्जित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिन सहकार्य भएको छ ।

ईजी एस्योरेन्सका अध्यक्ष सञ्जित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा लिएका प्रयोगकर्तालाई क्षतिपूर्ति प्रदान गर्ने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।

ईजी एस्योरेन्सले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनै पनि प्रकारका दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बिमाअन्तर्गत रकम प्रदान गर्नेछ ।

ईजी एस्योरेन्सले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्तर्गत मोबाइल ग्राहकहरुले न्यूनतम एक हजार पाँच सयभन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ रुपैयाँ तिरेर एक वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुनेछ ।

यसबाहेक ईजी एस्योरेन्सले कुनै पनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिनेभन्दा मोबाइल तथा सफ्टवेयरमा थप एक वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ ।

यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिनभित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन् भने सात दिनपछि ईजी एस्योरेन्सको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ ।

ईजी एस्योरेन्सले मोबाइल फोन एस्योरेन्स सेवा देशभरिका आधिकारिक एजेन्टमार्फत् प्रदान गरिरहेको छ । मोबाइल फोन एस्योरेन्स सेवामा शर्तहरु भने लागू हुनेछन् ।

यस कम्पनीसँग आबद्ध ईजी मोबाइल केयरले यसअघि पहिलो पटक स्मार्टफोनको डिस्प्ले÷स्क्रीन फुटेबापत् फुटेको डिस्प्ले निशुल्क फेरिदिने योजना सञ्चालन गरिरहेको छ ।

कम्पनीसँग आबद्ध ईजी मोबाइल केयरले एक रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने योजना सञ्चालन गर्दै आइरहेको छ ।