सचिव मैनालीले भने, ‘धेरै सहकारीले सहकारी मूल्य मान्यता पालना गरेका छैनन्, कम्पनीका रुपमा चलेका छन् ।’ उनले सहकारी साहुकारी हुनुका साथै केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि बनाएको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारीहरु एनजीओ र आईएनजीओजस्ता भएको बताएका छन् । रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीहरु कम्पनीका रुपमा चलिरहेको बताएका हुन् ।
सचिव मैनालीले भने, ‘धेरै सहकारीले सहकारी मूल्य मान्यता पालना गरेका छैनन्, कम्पनीका रुपमा चलेका छन् ।’ उनले सहकारी साहुकारी हुनुका साथै केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि बनाएको बताए ।
उनले आर्थिक विकासका लागि निजी, सहकारी र सार्वजनिक तीन ओटा बलिया खम्बा नभई सम्बिधानमा तीन ओटा क्षेत्रको भूमिका मात्र उल्लेख गरेको बताए । सहकारी विस्तारका क्रममा भएकाले निजी क्षेत्र जस्तै बलियो बन्न पनि साना साना सीप र सम्भावनालाई उपयोग गरेर समृद्ध नेपाल बनाउनका लागि अघि बढ्नु पर्ने उनको भनाइ थियो ।
३४ हजार पाँच सय १२ सहकारीमा गत वर्ष एक सय ३० ओटामा समस्या देखिएकामध्ये १० ओटा संस्थालाई समस्याग्रस्त घोषण गरेको जानकारी दिए । दोहोरो सदस्यताको समस्या समाधान गर्न सहकारीहरु मर्ज गर्नुपर्ने आवश्यकता भएको भन्दै उनले संस्था एकीकरणपछि ६० लाखबाट ४० लाख सदस्यमा आउने बताए । धेरै जसो संस्थाहरु आफ्नो विनीयमभन्दा बाहिर गएर काम गरेका छन् । सहकारीमध्ये पनि १४ हजार बचत तथा ऋण सहकारी बाहेकका ९० प्रतिशत सहकारीले बचत तथा ऋणको मात्र काम गरेको उनले जानकारी दिएका छन् ।
रोयल बहुउद्देश्य सहकारीका अध्यक्ष भानुभक्त ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीले ०७४/०७५ मा ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैयाँ सेयर पुँजी तथा ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंयाँ बचत सङ्कलन गरेको छ । संस्थाले ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैयाँ ऋण लगानी गरेको बताइएको छ ।