भोलिदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले जलवायु परिवर्तनले ठूलाठूला प्राकृतिक प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहने बताए । चापागाईंले सम्मेलनमा उठेका विषयबाट बिमा समितिले नीति, नियम तथा निर्देशन तयार पार्ने बताए । ‘खासगरी साइबर जोखिम नीति ल्याउने गरी छलफल हुनेछ,’ उनले भने ।

असोज ९ गते अर्थात् भोलिदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन सुरु हुने भएको छ । एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रि–इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन काठमाडौंमा हुन लागेको हो, जसमा एआईआरडीसी, बिमा समिति र नेपाल बिमक सङ्घको संयुक्त आयोजना हुनेछ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रसहित विभिन्न २९ राष्ट्रका बिमा कम्पनी, पुनर्बिमा कम्पनी र नियामक निकायका ५ सयभन्दा बढी बिमा कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले जलवायु परिवर्तनले ठूलाठूला प्राकृतिक प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहने बताए । चापागाईंले सम्मेलनमा उठेका विषयबाट बिमा समितिले नीति, नियम तथा निर्देशन तयार पार्ने बताए । ‘खासगरी साइबर जोखिम नीति ल्याउने गरी छलफल हुनेछ,’ उनले भने ।

सम्मेलनमा पछिल्लो समयमा तीव्र रुपले बढिरहेको जलवायु परिवर्तनका कारण हुने जोखिम र साइबर जोखिम बिमामार्फत कसरी सुरक्षण गर्न सकिन्छ भन्नेबारे छलफल हुने आयोजक बिमा समितिले जनाएको छ । ‘बुल्डिङ फाइनान्सियल रेजिलेन्स डिजास्टर रिस्क फाइनान्सिङ एन्ड इन्स्योरेन्स’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना हुन लागेको जनाइएको छ ।

सम्मेलनले बिमा क्षेत्रको विकास तथा विस्तारका साथै बिमासम्बन्धी चेतना अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा २९ विकासशील राष्ट्रबीच बिमासम्बन्धी अभ्यास तथा अनुभव साटासाट गर्न साझा प्लेटफर्म उपलब्ध हुनेछ ।