सञ्चालक र सीईओलाई ६ महिनाको कुलिङ पिरियड

राष्ट्र बैङ्कको निर्देशनले नबिलको नियुक्ति बुझेका अनिलकेशरी शाहसँगै कहाँ जाने वा के गर्ने भन्ने टुङ्गो नलगाएका ग्लोबल आईएमई बैङ्क छाडेका अनिल ज्ञवाली र नबिल बैङ्कमा राजीनामा दिएका शशिन जोशी वित्तीय क्षेत्रमा फर्कने भए कम्तीमा ६ महिना बेरोजगार बस्नुपर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकहरूलाई कम्तीमा ६ महिना अवधिको ‘कुलिङ पिरियड’ तोकेको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै सीईओ र सञ्चालक जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएमा ६ महिना पार नगरेसम्म अर्को सोही प्रकृतिको संस्थामा जान नपाउने व्यवस्था गरेको छ । बैङ्क तथा वित्तीय संस्थामा काम गर्दागर्दै छाड्ने र आफूसँगै त्यहाँ कार्यरत आफूअनुकूलका उच्च तहका कर्मचारी, कतिपय अवस्थामा निक्षेपकर्ता तथा ऋणीहरूसमेत आफू काम गर्ने नयाँ संस्थामा लिएर जाने क्रम बढेपछि केन्द्रीय बैङ्कले कुलिङ पिरियडको व्यवस्था गरेको हो ।

त्यस्तै सीईओबाट आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणले पनि त्यस्तो व्यक्ति पुन त्यही कार्यकाल वा ६ महिना नपुगी त्यही संस्थामा सञ्चालक पनि हुन नपाउने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । त्यसैगरी स्वतन्त्र सञ्चालकबाहेक अन्य सञ्चालकहरूका हकमा सञ्चालकबाट हटेको व्यक्ति पनि ६ महिना नपुगी सोही वा अन्य संस्थामा फेरि सञ्चालक हुन नपाउने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । यसको अर्थ हो बैङ्क तथा वित्तीय संस्थाका सीईओ र सञ्चालक आफ्नो संस्था छाडेपछि केही समय अनिवार्य रूपमा विदा बस्नुपर्ने भएको छ ।

राष्ट्र बैङ्कको निर्देशनको पहिलो असर भने मेगा बैङ्कबाट पुस २ मा विदा लिएर हिँडेका अनिलकेशरी शाहलाई हिजो पुस १३ मा मात्रै नबिल बैङ्क सञ्चालक समितिले सीईओ बनाउने निर्णय गरेको थियो । केन्द्रीय बैङ्कले यससम्बन्धी निर्देशन पनि जारी गरेको देखिन्छ । यसअघि सेन्चुरी कमर्सियल बैङ्कमा जान तयार देखिएका शाह तलबी कुरा नमिलेपछि नबलितर्फ मोडिएका थिए ।

शाहसँगै यसको असर हालै ग्लोबल आईएमई बैङ्क छाडेका अनिल ज्ञवाली र नबिल बैङ्कमा राजीनामा दिएका शसिन जोशीलाई पनि पर्ने देखिन्छ । तर, उनीहरू अहिलेसम्म बैङ्कमा काम गर्ने वा नगर्ने भन्नेबारे भने मौन छन् । पछिल्लो समयमा वित्तीय संस्थाहरूमा मात्रै नभई बिमा कम्पनीहरूमा पनि कुलिङ पिरियडको आवश्यकता औंल्याइएको छ । हालै जीवन बिमातर्फ १० कम्पनी र निर्जीवन बिमातर्फ ३ कम्पनीले नयाँ सञ्चालन अनुमति पाएसँगै सीईओ र सञ्चालकहरू तँछाडमछाड गर्न सक्ने देखिएको छ ।