बैङ्करहरुको अल्पकालीन निर्णयको शिकार भने ऋणीहरु भएका छन् । चालू वर्षको दुई महिनामा ४२ अर्ब निक्षेप सङ्कलन हुँदा ७८ अर्ब कर्जा लगानी भएको छ । यसले कर्जा लगानी र निक्षेपबीच ठूलो खाडल (मिसम्याच) रहेको देखाउँछ र तरलता अभाव हुन मुख्य भूमिका खेलेको छ ।
बैङ्करहरुले तीन महिनाकै अवधिमा आफ्ना शाखाहरुलाई कर्जा दिन छाडेर निक्षेप उठाउन निर्देशन दिएका छन् । असोजको मध्यसँगै बजारमा तरलता (लगानीयोग्य रकम) अभाव भएको भन्दै बैङ्करहरुले आफ्ना शाखालाई निक्षेप उठाउने टार्गेट दिन थालेका हुन् ।
चालू आर्थिक वर्ष (२०७५/७६) को सुरुवातसँगै अधिक तरलता (लगानीयोग्य रकम) बढी भएको भन्दै बैङ्करहरुले व्यापक रुपमा ऋण लगानी गर्न आफ्ना शाखाहरुलाई निर्देशन दिएका थिए । त्यसैका आधारमा यसअवधिमा निक्षेपको सङ्कलनभन्दा कर्जा लगानी बढी भएको थियो । तर, दसैंको आगमन सुरु भएसँगै बजारमा तरलता अभाव देखिएको छ र बैङ्कहरुले निक्षेप उठाउन आफ्ना शाखाहरुलाई निर्देशन दिएका छन् । बैङ्करहरुको अल्पकालीन निर्णयको शिकार भने ऋणीहरु भएका छन् । चालू वर्षको दुई महिनामा ४२ अर्ब निक्षेप सङ्कलन हुँदा ७८ अर्ब कर्जा लगानी भएको छ । यसले कर्जा लगानी र निक्षेपबीच ठूलो खाडल (मिसम्याच) रहेको देखाउँछ र तरलता अभाव हुन मुख्य भूमिका खेलेको छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीति जारी गरेसँगै ब्याज घट्छ भन्ने आशमा बसेका ऋणीहरुलाई अन्ततः ब्याज बढ्न सक्ने जानकारी आउन थालेको छ । यसले फेरि थप ब्याज बढ्ने हो कि भन्ने पिरलोमा ऋणीहरु परेका छन् । बैङ्करहरुका अनुसार यतिबेला ऋण लगानी भने ठप्प जस्तै छ । पुराना ऋणको ब्याज असुली र निक्षेप सङ्कलनमा जोड दिइएको बैङ्करहरुको भनाइ छ । खासगरी चालू वर्षको मौद्रिक नीतिले बैङ्कले आगामी असारमा ऋणमा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरको अन्तर (स्प्रेड रेट) ५ प्रतिशतबाट घटाएर साढे ४ प्रतिशत झार्नुपर्ने व्यवस्थाले ब्याजदर घट्ने आशा गरिए पनि विस्तारै बजारमा तरलता अभाव देखिएपछि तत्काललाई ब्याजदर घट्ने सम्भावना टरेको छ । ऋणमा ब्याजदर घट्ने सम्भावना तत्काललाई जनताकै मनमा रहेको छ ।
सेन्चुरी कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दसैंको समयमा नयाँ नोट सटही, सामान खरिद र अन्य बन्दोबस्तीका सामान उपयोगमा ठूलो रकम खर्च हुने भएकाले बजारमा तरलता अभाव देखिएको बताए । ‘नयाँ नोट सटहीमा मात्रै १४ अर्ब हाराहारी बस्ने देखिन्छ,’ उनले भने, ‘त्यसैगरी लुगाफाटो र अन्य सामान खरिदमा पनि ठूलो रकम खर्च हुने मात्र नभई गाउँमा जाने हरेक व्यक्तिले नगदै लिएर जाने भएकाले त्यसको असर वित्तीय प्रणालीमा परेको छ ।’
नयाँ नोट साट्दा प्रयोग हुने पैसा वित्तीय प्रणालीबाट केन्द्रीय बैङ्कको ढुकुटीमा पुग्छ । त्यसैगरी अहिले निर्माण क्षेत्रको काममा पनि समस्या देखिएको छ । खासगरी पप्पु कन्स्ट्रक्सनका कारण सरकारले ठेक्का पट्टासम्बन्धी नियम परिवर्तन गर्न खोजिरहेको छ । नयाँ नियम नबन्दासम्म ‘मोबिलाइजेसन फन्ड’ पनि प्रयोग गर्न नदिने सरकारले निर्देशन दिएका कारण त्यससम्बन्धी पैसा पनि बजारमा नआउँदा समस्या भएको एक बैङ्करले जानकारी दिए । त्यसैगरी असोज महिना त्रैमासिक अन्त्य भएकाले पनि त्रैमासिक रुपमा र गत वर्षको वार्षिक हिसाबको बाँकी बक्यौता पनि तिर्नुपर्ने बेला भएकाले त्यसवापत सरकारलाई ठूलो रकम बुझाउनुपर्ने छ । जसको सीधा असर वित्तीय प्रणालीमा परेको छ र बजारमा तरलता अभाव देखिएको छ । खासगरी तरलता अभावको समस्या झेल्न थालेपछि बैङ्करहरुले निर्माण व्यवसायीलाई दिनुपर्ने पेश्कीवापतको रकम दिन पनि अनेकन बहाना बनाउने गरेका छन् ।
सानीमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि निक्षेप सङ्कलन र कर्जा लगानीमा ‘मिसम्याच’ रहेकाले तत्काल ब्याज घट्ने सम्भावना नरहेको बताउँछन् । ‘कर्जाको माग एकदमै बढी छ,’ उनले भने, ‘तर, निक्षेप सङ्कलन दर एकदमै न्यून भएकाले वित्तीय क्षेत्रमा तरलता अभाव देखिएको छ ।’ यस्तै अवस्था रहे आगामी दिन वित्तीय क्षेत्रमा अझ कस्टकर दिन आउने सम्भावना भएको दाहालले जानकारी दिए ।
चालू वर्षको सुरुआतसँगै बैङ्कहरुले विदेशी मुद्रामा ऋण लिने भनेपनि एनएमबी बैङ्कले एक किस्ता ल्याएको बाहेक अरु कुनै बैङ्कले पनि यस्तो रकम ल्याउन सकेनन् । जसले गर्दा वित्तीय क्षेत्रमा आशातित तरलता प्रवाह भएन । यद्यपि पहिलो महिनाको आकडाले विप्रेषण आप्रवाहको दर ३३ प्रतिशतले बृद्धि भएपनि दसैं सुरु भएसँगै बजारमा तरलता अभावको समस्या देखिएको हो ।