घरघरमा दसैं आउँदा बैङ्कका कर्मचारी भने बिदाकै तनावमा

त्रैमासिक हिसाब मिलान गर्नका लागि ऋणीहरुलाई निरन्तर ऋणको किस्ता र ब्याज तिर्न उत्साहित बनाउने बेला भएकाले पनि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरु दसैं बिदामा पनि कार्यालय जानुपर्ने भएपछि तनाव नहोस् पनि किन ?

 

यस वर्षको दसैं सङ्घारमै आइपुगेको छ । आजबाट हरेक नेपालीका घरमा दसैं पर्व सुरु भएको छ । तर, बैङ्क तथा वित्तीय संस्थाका कतिपय कर्मचारी दसैंमा छुट्टी नपाइने हो कि भन्ने तनावमा छन् । खासगरी त्रैमासिकको अन्त्यमा एकातिर दसैं पर्व परेको छ भने अर्कोतिर बैङ्क तथा वित्तीय संस्थाको त्रैमासिक हिसाब मिलानको अवधि परेको छ ।

त्रैमासिक हिसाब मिलान गर्नका लागि ऋणीहरुलाई निरन्तर ऋणको किस्ता र ब्याज तिर्न उत्साहित बनाउने बेला भएकाले पनि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरु दसैं बिदामा पनि कार्यालय जानुपर्ने भएपछि तनाव नहोस् पनि किन ?

यद्यपि सरकारले दसैं बिदा भनेर फूलपाती अर्थात् असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म दिएको छ । नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाले पनि त्यही बिदालाई आधिकारिकता दिने गर्छन् । तर, बैङ्क तथा वित्तीय संस्थाका उच्च व्यवस्थापकहरु भने यतिबेला कुन कर्मचारीलाई छुट्टी दिने र कुन कर्मचारीलाई काममा लगाउने भन्ने धुनमा छन् । त्रैमासिक अवधिको अन्तिम दुई दिनमा दसैंको सार्वजनिक बिदा भएकाले पनि बैङ्कहरु अप्ठ्यारोमा परेका हुन् । सकेसम्म पायक पर्ने कर्मचारीलाई बैङ्कको नियमित काममा फर्काउन बैङ्कहरु प्रयासरत छन् ।

त्यसो त अधिकांश वाणिज्य बैङ्क र कतिपय विकास बैङ्क तथा वित्त कम्पनीले दसैंको सार्वजनिक बिदा अवधिभर (टीका अर्थात् दशमीका दिनसमेत) समय अनुकूल बनाएर आफ्ना केही शाखा खोल्ने गर्छन् । त्यसका लागि बैङ्क तथा वित्तीय संस्थाहरुले सार्वजनिक सूचनामार्फत जानकारी गराउने गर्छन् । राष्ट्र बैङ्कले त्रैमासिक अन्त्यमा बिदा परे पनि सरकारको कर उठाउने बैङ्कहरुलाई सम्बन्धित शाखा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैङ्कको गत वर्ष पुस २९ गते जारी निर्देशिकाले प्रत्येक त्रैमासिक अन्त्यमा सार्वजनिक विदा परे पनि बैङ्क खुला गर्नु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नायरायण पौडेलले दसैंजस्तो ठूलो चाडपर्वमा बैङ्क तथा वित्तीय संस्थाका सबै कार्यलय खुला राख्नु भनेर दबाब नदिइने बताए । ‘बैङ्कहरुले आफू अनुकूल निर्णय गर्दै कर्मचारीलाई बिदा दिन पाउँछन्’ उनले भने, ‘ग्राहकलाई कसरी सर्वसुलभ रुपमा सेवा दिने भन्ने कुरा बैङ्क तथा वित्तीय संस्था स्वयम्को भएकाले सोहीअनुरुप कर्मचारी व्यवस्थापन गरी सार्वजनिक बिदाको उपयोग गर्न सक्छन् ।’

असोज ३० र ३१ गते सार्वजनिक बिदा परेपछि बैङ्कहरुले ऋणीहरुलाई फोन, एसएमएस र इमेलमार्फत असोज २५/२६ गतेभित्रै नियमित किस्ता र ब्याज तिर्न ताकेता गर्न थालेका छन् । कतिपय बैङ्कका व्यवस्थापकले आफूअन्तर्गतको सावाँब्याज समयमै भुक्तानी भए त्यस्ता कर्मचारीलाई छिटो बिदा दिइने घोषणा गरेको कर्मचारीहरुको भनाइ छ । खासगरी महिनाको मसान्तमा ऋणको सावाँ तथा किस्ता तिर्ने ग्राहकले अन्तिम दिन सार्वजनिक बिदा परे त्यसको भोलिपल्ट बुझाउन पाउने व्यवस्था भएपनि बैङ्कहरु भने दसैंअगावै नियमित रुपमा ऋण र ब्याज असुली गर्न लागिपरेका हुन् ।

उता नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सबै शाखा कार्यलय बन्द नहुने भएकाले सबै कर्मचारीलाई दसैंको छुट्टी दिन नसकिने बताए । ऋणीहरुले असोज मसान्तसम्म ऋणको सावाँ र ब्याज नबुझाए त्यसको विवरण त्रैमासिक विवरणमा नआउने भएकाले ताकेता गर्नु बाध्यता रहेको बताए ।