वित्त कम्पनीहरुले उत्पादनमूलक क्षेत्रमा साढे १० प्रतिशत लगानी गर्दा मल्टीपर्पसको भने ५९ प्रतिशत

मल्टीपर्पस फाइनान्स सप्तरी एक कार्यजिल्ला भएको वित्त कम्पनी हो । हाल वित्त कम्पनीहरुले पुससम्म प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जा लगानीको १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

वित्त (फाइनान्स) कम्पनीहरुले समग्रमा उत्पादनमूलक क्षेत्रमा १० दशमलव ६८ प्रतिशत ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कले तयार पारेको २० वित्त कम्पनीको प्रमुख वित्तीय परिसूचकअनुसार सबैभन्दा बढी मल्टीपर्पस फिनान्सले ५८ दशमलव ९७ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ ।

मल्टीपर्पस फाइनान्स सप्तरी एक कार्यजिल्ला भएको वित्त कम्पनी हो । हाल वित्त कम्पनीहरुले पुससम्म प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जा लगानीको १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

वाणिज्य बैङ्कहरुले भने कुल ऋण लगानीको प्राथमिकताप्राप्त क्षेत्रमा ३५ दशमलव ९८ प्रतिशत र कृषि तथा ऊर्जाक्षेत्रमा २५ दशमलव ४२ प्रतिशत ऋण लगानी गरेका छन् । राष्ट्र बैङ्कले चालू वर्ष पुससम्म तोकिएका उत्पादनशील क्षेत्रमा २५ प्रतिशत लगानी गरेको हुनुपर्नेमा कृषिमा १० प्रतिशत र ऊर्जा तथा पर्यटनमा १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कको छ । राष्ट्र बैङ्कले प्राथमिकताप्राप्त वा उत्पादनमूलक क्षेत्र भनेर वाणिज्य बैङ्कको हकमा कृषि, जलविद्युत्÷उर्जा तथा पर्यटन क्षेत्रलाई जनाउँछ भने विकास बैङ्क र वित्तीय संस्थाको हकमा कृषि, जलविद्युत्÷ऊर्जा, पर्यटन, निर्यात, साना तथा मझौला, औषधि उत्पादन, सिमेन्ट, गार्मेन्ट उद्योगलाई चिनिन्छ ।

२०७५ असारसम्म २५ वित्त कम्पनी सञ्चालनमा भए पनि केन्द्रीय बैङ्कले समस्याग्रस्त घोषणा गरेकामध्ये क्रिस्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स, नेपाल सेयर मार्केट एन्ड फाइनान्स र नेपाल फाइनान्सको वित्तीय विवरण राष्ट्र बैङ्कले समेटेको छैन । प्राप्त विवरणअनुसार उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्ने फाइनान्समा जेबिल्स र तेस्रोमा सिनर्जी फाइनान्सको २६ दशमलव ३७ प्रतिशत लगानी छ । यी दुवै फाइनान्स राष्ट्रियस्तरका भए पनि सिनर्जी भने बेस्ट फाइनान्समा गाभिएको छ र अहिले फाइनान्सको सङ्ख्या २४ मा सीमित भएको छ । उता, समस्याग्रस्त क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ता प्रवेश गरी व्यवस्थापन सम्हालिसकेको छ भने वल्र्ड मर्चेन्टमा पनि नयाँ लगानीकर्ताले रुचि देखाएका छन् ।

यस अवधिको विवरणअनुसार यसअघि समस्याग्रस्त रुपमा रहेको कुबेर मेर्चेन्ट फाइनान्समा नयाँ व्यवस्थापन आएपछि समस्याग्रस्त संस्थाबाट मुक्त भई नयाँ नाममा सञ्चालन भएको सिटी एक्सप्रेस फाइनान्सको भने उत्पादनमूलक क्षेत्रको लगानी शून्य देखिएको छ । त्यसैगरी वेस्ट फाइनान्समा पनि नयाँ लगानीकर्ता भित्रिएपछि पुरानो समस्याग्रस्त संस्था जनरल फाइनान्सबाट नाम परिवर्तन गरिएको हो । वेस्टको पनि उत्पादनमूलक क्षेत्रमा राम्रै लगानी १९ दशमलव ६६ प्रतिशत छ । त्यसैगरी हाथवे फाइनान्स पनि समस्याग्रस्त अरुण फाइनान्समा नयाँ लगानीकर्ता प्रवेश भए पनि नाम फेरेर सञ्चालन भएको वित्त कम्पनी हो । उसको भने उत्पादनमूलक क्षेत्रमा ३ दशमलव ३१ प्रतिशत लगानी गरेको छ ।

त्यसैगरी वित्तीय कम्पनीहरुले विपन्न वर्गमा ६ दशमलव ११ प्रतिशत ऋण लगानी गरेका छन् । विपन्न वर्गमा पनि सबैभन्दा बढी ऋण लगानी बेस्ट फाइनान्सले १४ दशमलव ८३ प्रतिशत र त्यसपछि प्रोग्रेसिभ फाइनान्सले १० दशमलव ९२ प्रतिशत लगानी भएको छ । सिटी एक्सप्रेस फाइनान्सको विपन्न वर्ग कर्जा पनि देखिएको छैन