पुनर्निर्माण प्राधिकरणले तोक्यो आगामी जेठसम्म तेस्रो किस्ता लिने समय

पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन सक्ने समय तोकेको हो ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास निर्माणका लागि समय थप गरेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन सक्ने समय तोकेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त अवधिभित्र सबै लाभग्राहीले तेस्रो किस्ता लिन आग्रह समेत गरेको हो ।

अहिलेसम्म झन्डै ३ लाखभन्दा बढी घर निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै साढे ५ लाख घर निर्माण भइरहेको छ । प्राधिकरणले पुनर्निर्माणका लागि स्थानीय तहलाई पनि जिम्मेवारी दिइएको छ । कुल ७ लाख २७ हजार कुल लाभग्राहीमध्ये ७ लाख १५ हजारले पहिलो किस्ता, ५ लाखले दोस्रो किस्ता र २ लाख ८२ हजारले तेस्रो किस्ता पाइसकेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणले यसअगाडी माघसम्म दोस्रो किस्ता नलिनेका लागि समय तोकेको छ । त्यस्तैगरी आगामी २०७६ जेठ मसान्तसम्म तेस्रो किस्ता लिइसक्नु पर्ने गरी सूचना सार्वजनिक गरेको हो ।